काटिए धुर्बे हात्तीका दाह्रा



नारायणगढ । एघार वर्षको अन्तरालमा २२ जनाको ज्यान लिएको मत्ता हात्ती धुर्बेका दुवै दाह्रा काटिएका छन् । पछिल्लो पटक चितवन राष्ट्रिय निकुञ्जको सीमा क्षेत्रमा आतङ्क मच्चाउँदै आएको धुर्बेलाई निकुञ्जकै पश्चिमी क्षेत्रमा पर्ने सुखीभार पोस्ट नजिकै नियन्त्रणमा लिएर दोस्रो पटक दाह्रा काटिएको हो । यसअघि दुई वर्षअघि यसको दाह्रा काटिएको थियो ।

दाह्रा काटिएको धुर्बेलाई पछिसम्म निगरानी गर्न रेडियो कलर पनि जडान गरिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार हात्तीलाई बेहोस बनाउन औषधीसहितको बन्दुक हान्ने विधि डार्ट प्रयोग गरेर बेहोस बनाएर दाह्रा काटी स्याटेलाइट कलरसमेत जडान गरिएको छ ।

स्याटेलाइट कलर जडान गरिएको पनि यो तेस्रो पटक हो । यसअघि २०६९ मङ्सिर ६ मा र २०७९ मा पनि यस हात्तीमा स्याटेलाइट कलर जडान गरिएको निकुञ्जले जनाएको छ । हात्तीको नियमित अनुगमन गर्न यो कलर जडान गर्ने गरिन्छ । सोमबार अपराह्न ३ बजेका हाराहारीमा धुर्बेलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिन निकुञ्जका हात्तीसहितका प्राविधिक खटिएका थिए ।

“हामी धेरै दिनदेखि धुर्बेको पछि लागेका थियौँ । अहिलेसम्म त्यसलाई नियन्त्रणमा लिन सकेका थिएनौँ, आज नियन्त्रणमा लिएसँगै दाह्रा काटेर स्याटेलाइट कलर जडान गरेर छाडिएको छ,” सूचना अधिकारी तिवारीले भन्नुभयो ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा। विजय श्रेष्ठ धुर्बेले पछिल्लो समय माडीको वडा नम्बर १ र २ तथा भरतपुर महानगरपालिकाको वडा नम्बर २३, २४ र २५ का बासिन्दालाई आतङ्कित पारेको जानकारी दिनुभयो ।

“मानव बस्तीमा पसेर यसले आतङ्क नै फैलाएको थियो,” उहाँले भन्नुभयो । हात्तीले पछिल्लो समय १५ वटा घर भत्काएर अन्नपात नष्ट गरेको बताइन्छ । यसले चितवन र पर्साका गरी २२ जनाको ज्यान लिएको छ । २०६९ सालदेखि चितवन र पर्साका विभिन्न क्षेत्रमा आतङ्क मच्चाउँदै आएको सो हात्तीलाई मार्न यसअघि पटक पटक प्रयास गरिए पनि विफल भएको थियो । २०६९ सालमै यसले बढी मानवीय क्षति गरेपछि हात्तीलाई नियन्त्रणमा लिने प्रयास गरिएको थियो । जिल्ला स्थित सुरक्षा समितिले यसलाई मार्ने निर्णय गरे पनि लामो समयसम्म यो हात्ती जङ्गलमै हराएको थियो । त्यो बेला यसलाई वनमै गोली हानेर छाडिएको थियो तर यो नमरी बाँचेको बताइन्छ ।

“लामो समय हराएको थियो । पछिल्लो केही वर्षयता फेरि यसले दुःख दिन थालेपछि बाध्य भएर दाह्रा काट्नु परेको हो,” सूचना अधिकारी तिवारीले भन्नुभयो । देशकै ठुलो र पहिलो चितवन राष्ट्रिय निकुञ्जमा ५० भन्दा बढी जङ्गली हात्ती भएको अनुमान छ । यहाँ रहेका धुर्बे, रोनाल्डो, गोविन्दे नामका जङ्गली हात्ती हात्ती प्रजनन केन्द्र सौराहाका ज्वाइँ हात्ती हुन् । प्रजनन केन्द्रमा रहेका ढोईलाई यिनै जङ्गली हात्तीसँग सहवास गराएर बच्चा जन्माउने गरिन्छ ।

यसैले प्रजनन केन्द्रका प्रमुख मोहनपुरन चौधरी धुर्बेको दाह्रा काटिएकोमा दुःखी हुनुहुन्छ । “हाम्रा ज्वाइँ राजाको दाह्रा काटिएको खबरले हामी दुःखी छौँ । तर अब यसले मान्छेलाई दुःख दिँदैन भन्ने लाग्छ,” उहाँले भन्नुभयो । आजको गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्