हरेक दिन एउटा–एउटा काण्ड आउँछ : रवि लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले हरेक दिन एउटा–एउटा काण्ड आउने गरेकाले विरोध र आन्दोलन गरेर साध्य नहुने बताएका छन् । आज शनिवार काठमाडौँ क्षेत्र नम्बर ९ ले नैकापमा आयोजना गरेको पार्टीको खुला सभामा सभापति लामिछानेले रास्वपाको मिसन ८४ मा दलहरूको आँखा लागेकाले चाँडै मिसन ८० सार्वजनिक गर्ने बताए ।

मिसन २०८४ लाई जनताले साथ दिए एकै पटक बेथितिलाई अन्त्य गर्न सक्ने उनले दाबी गरे । मिसन २०८४ मा अन्य दलको दावा हो भने ८४ सम्म रास्वपालाई सरकार चलाउन दिए २०८४ मा प्रचार नगरी निर्वाचन लड्ने जिकिर गरे ।

रास्वपा एक्लै निर्वाचन लड्ने भन्दै अन्य दलहरूले आगामी राष्ट्रियसभा निर्वाचनमा एक्लै चुनाव लड्ने आट गर्न नसकेको उनले बताए । ठुला भनिएका दलहरूले मदन–बीपीको नाम बेच्ने गरेको बताउँदै लामिछानेले आफूहरूसँग सुशासनको एजेन्डा मात्र भएको बताए ।

सभापति लामिछानेले नेताहरूले आफन्तलाई भागबन्डा गरेर देश डुबाएको आरोप लगाउँदै अब ठुला दलका कुनै नेताले देश बनाउँछन् भनेर विश्वास गर्न नसकिने बताए । आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर्दै उनले एजेन्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्