दुरवस्थामा काठमाडौँका हिटी



काठमाडौँ । काठमाडौँ उपत्यकाका ढुङ्गेधारा अर्थात् हिटीको अवस्था दयनीय बन्दै गएको छ। एक अध्ययन अनुसार प्राचीनकालदेखि नै काठमाडौँ उपत्यकाभित्र खानेपानीको स्रोतका रूपमा रहेका १५४ वटा ढुङ्गेधारा (हिटी) उचित संरक्षणको अभावमा दुरवस्थामा पुगेका हुन् ।

तीमध्ये ६१ वटा (४० प्रतिशत) ढुङ्गेधारामा मात्र हाल पानी आउने गरेको पाइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले यही मङ्सिरमा अलान फाउन्डेसनबाट यो अध्ययन गराएको थियो ।

प्रतिवेदन अनुसार ५० वटा (३२ प्रतिशत) मा पानी नआउने, १० वटा (छ प्रतिशत) लोपोन्मुख, २१ वटा (१४ प्रतिशत)हराएका र १२ वटा (आठ प्रतिशत) फेला नपरेको अवस्था छ । अध्ययनका क्रममा ढुङ्गेधारालाई यिनै पाँच प्रकारमा बाँडेर तथ्याङ्क सङ्कलन गरिएको थियो ।

वडागत रूपमा हेर्दा वडा नम्बर १५ र ३२ वडामा १२/१२ वटा हिटी छन् भने वडा नम्बर ११, २२, २३, २४, २५ र २७ गरी छ वटा वडामा एउटा पनि हिटीको अभिलेख भेटिएन।

अध्ययन प्रतिवेदन अनुसार वडा नम्बर १२ र १३ मा एकरएक वटा, वडा नम्बर ३, २१ र २९ मा दुईरदुई वटा, वडा नम्बर २ र ३० मा तीनरतीन वटा हिटी भेटिएका छन्। त्यसै गरी वडा नम्बर ५, २८ र ३१ मा चाररचार वटा, वडा नम्बर २० मा पाँच वटा, वडा नम्बर १, ८, १९, २६ मा छरछ वटा हिटी छन् । वडा नम्बर १८ मा सात वटा, वडा नम्बर ४ र ७ मा आठरआठ वटा, वडा नम्बर ९ र १६ मा नौ रनौ वटा, वडा नम्बर १७ मा १० वटा, वडा नम्बर ६ मा ११ वटा र वडा नम्बर १० मा १३ वटा हिटी छन् । पानी आउने गरेका हिटीमा धारामा पानीको निकास राम्रो रहेको पाइएको छ । मर्मत गरिएको छ । हिटीमा मानिस आएर पानीको प्रयोग गर्ने गरेको पाइएको छ । यी हिटीको र यसको परिसर संरचना कायम राखिएको पाइएको छ ।

प्रतिवेदनमा उल्लेख छ, “हिटी जलप्रवाहसँग सम्बन्धित प्रणाली हो । जलाधार क्षेत्र, भूमिगत तह, अन्य जल भण्डार यसका स्रोत हुन्। यससँग प्रकृति र प्राणी सभ्यता अन्तरसम्बन्धित छन् । यसको व्यवस्थापनका लागि जलचर, बिरुवा तथा प्राकृतिक रूपमा उम्रिने रैथाने झारपातसँग सम्बन्ध हुन्छ ।”

काठमाडौँमा राजकुलो, पोखरी र पानीका नालीको सञ्जाल बनाएर जीवन पद्धतिसँग पानीको उपलब्धता जोडिएको छ। सहरी जीवनको संस्कार, संस्कृति र परम्परासँग जल सम्पदाको अभिन्न नाता छ । यसको महत्वलाई वास्तुकलाले सम्पन्न ढुङ्गेधाराको संरचनामा देख्न सकिने प्रतिवेदनमा औँल्याइएको छ । आजका गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्