मौद्रिक नीतिमा सुधारले ब्याजदर घट्यो



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैङ्क तथा वित्तीय संस्था र मौद्रिक नीतिमा गरिएको सुधारका कारण ब्याजदर घटेको बताएका छन्। उनले मङ्गलवार सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै बैङ्कहरूको आधार ब्याजदर घटेर एकल अङ्कमा आएको र बैङ्क कर्जाको ब्याजदर पनि घटेको जानकारी गराएका हुन् ।

उनले भने, ‘ब्याजदर घटेको छ । यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ । पुँजी बजार र बिमा क्षेत्रमा मात्रात्मक सुधार भएको छ । तर, अपेक्षित सुधार नहुँदा चिन्तित छौँ र सुधारका लागि गम्भीर गृहकार्यमा छौँ ।’ व्यापार घाटामा कमी आए पनि निर्यात नबढी आयात घटेर कम भएको व्यापार घाटा दिगो हुँदैन भन्ने वास्तविकता लुकाउन नहुने उनले बताए ।

आन्तरिक उत्पादनसँगै निर्यात पनि बढाउने गरी उत्पादन परिमाण वृद्धि गर्न आवश्यक पहल लिने बताउँदै उनले भने, रेमिटेन्स २६ प्रतिशत बढेको छ । रेमिट्यान्ससँगै भित्रिएको सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेमा सरकार केन्द्रित हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्