नेप्सेसँगै घट्यो कारोबार रकम 



काठमाडौँ । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन घटेर बन्द भएको छ। गत साताको बिहीबारदेखि घट्न थालेको नेप्सेले बुधवार पनि  ओरालो लागेको हो ।  बुधवार नेप्से परिसूचक १७.२३ अङ्क घटेर २०७०.८४ विन्दुमा झरेको छ। त्यसै गरी, सेन्सेटिभ इण्डेक्स ४.२५ अङ्क र फ्लोट इण्डेक्स ०.४३ अङ्क घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अङ्क बढेको छ।

नेप्सेसँगै बुधवार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीकोसेयर खरिदबिक्री भएको बजारमा बुधवार ३०७ स्टकको १ लाख १७ हजार ४७६ पटकको कारोबारमा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ३७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि ७ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बुधवार नेपाल इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ्ग, चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ्ग, भिजन लुम्बिनी ऊर्जा र मुक्तिनाथ कृषि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। बुधबारबिपिडब्लु लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा बुधवार सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १९ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसै गरी, शिवम् सिमेन्ट्सको साढे १८ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने सूर्या ज्योति लाइफ इन्स्योरेन्स र हाथवे इन्भेष्टमेन्टको १६ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। आज निर्जीवन बिमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २।३२ प्रतिशत घटेको छ। त्यस्तै, बुधवार होटल तथा पर्यटन, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्