सेनाको रिक्त रथी पदमा निर्मल थापाको नाम सिफारिस



काठमाडौँ । नेपाली सेनाले रिक्त रथी पदमा उपरथी निर्मल थापाको नाम सिफारिस गरेको छ । रथी सिताराम खड्काले पुस ३ मा अवकाश पाएसँगै सेनाको बढुवा समितिले उनको ठाउँमा वरियतामा अघि रहेका उपरथी थापाको नाम सिफारिस गर्दै सात दिने सूचना प्रकाशित गरेको हो ।

सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले सेनाको रथी बढुवाको सात दिने सूचना बुधवार प्रकाशित भएको जानकारी गराए ।  सेनामा दुई रथीको दरबन्दी रहेको छ । यसअघि उपरथी अशोकराज सिग्देलको रथीमा बढुवासँगै उनी भावी प्रधानसेनापतिको लाइनमा बसिसकेका छन् ।

उपरथी थापा हाल सिरिया र जोर्डनबीचको गालान हाइटमा रहेको अनडोफ मिसनमा फोर्स कमान्डरका रूपमा कार्यरत छन् । थापाको शैक्षिक योग्यताको प्रमाणपत्रमा कैफियत रहेको भन्दै प्रश्न उठे पनि उनको बढुवाको लागि सात दिने सूचना प्रकाशित भएको हो । थापा रथीमा बढुवा भए फोर्स कमान्डरका रूपमा मिसनमै रहनेछन् । उनी तीन वर्षका लागि फोर्स कमान्डर नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्