धितो पत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न निर्देशन



काठमाडौँ । सार्वजनिक लेखा समितिले नेपाल धितो पत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।

आज बिहीबार बसेको समितिको बैठकले प्रिमियम मूल्यमा निष्कासन भएका सबै आईपीओको औचित्य र मूल्याङ्कनको सम्बन्धमा पनि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो ।

लेखा समितिले प्रिमियमा जारी भएका आईपीओका विषयमा छलफल गर्न बिहीबार बोर्डका अध्यक्ष हमाललाई बोलाए पनि उनी अनुपस्थित रहे । विना जानकारी हमाल बैठकमा अनुपस्थित भएको भन्दै समितिले खेद प्रकट गरेको छ ।

बैठकमा बोल्ने अधिकांश सांसदले प्रिमियममा जारी भएका आईपीओका सम्बन्धमा अध्ययन गर्नुपर्ने भन्दै बोर्ड अध्यक्ष हमालको कार्यशैलीको चर्को आलोचना गरेका छन् । छलफलमा रास्वपा सांसद हरि ढकालले घोराही सिमेन्टलाई प्रिमियम मूल्यको आईपीओमा स्वार्थ बाझिने रेटिङ स्वीकृत गरेको भन्दै बोर्डको आलोचना गरे ।

सांसद अमरेशकुमार सिंहले ऐनले नै बीमा र बैङ्कले प्रिमियममा आईपीओ जारी गर्न नपाउने व्यवस्था गरेको बताए । सांसद जनार्दन शर्माले घाटामा गएका कमजोर कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिनुलाई गम्भीर विषय रहेको बताए ।

सांसद अमनलाल मोदीले अपारदर्शी साँठगाँठ नभई रातारात नियमावली संशोधन गर्दै प्रिमियममा आईपीओको स्वीकृति हुन नसक्ने भन्दै बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्