राजेन्द्र महतो अनुशासनको कारबाहीको घेरामा 



काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई अनुशासनको कारबाही गर्ने भएको छ । वरिष्ठ नेता महतोले केही दिनदेखि पार्टीको हित विपरीत गतिविधि गरिरहेको भन्दै कारबाही गर्ने तयारी भइरहेको हो ।

उनले पार्टीको पार्टीको अनुशासन विपरीत कार्य  गर्दै आएकाले पार्टीका महासचिव डा।सुरेन्द्र झाले महतो  अनुसाशानको कारबाही हुन सक्ने बताएका हुन् । नेता महतोले पछिल्लो समय पार्टीको हित विपरीत गर्दै आएका गतिविधिको बारेमा पार्टीले अध्ययन गरिरहेको छ । महतोले बोलेका विषयमा विश्लेषण भइरहेको पनि उनले बताए ।

महतोले पार्टी र पार्टीका अध्यक्ष महन्थ ठाकुरको बारेमा स्तरहीन अभिव्यक्तिहरू दिइरहेकाले पार्टीमा छलफल गरेर उनलाई कारबाही गर्ने विषयमा छलफल सुरु भएको हो । पार्टीका अध्यक्ष ठाकुरले सार्वजनिक गरेको केन्द्रीय समितिको नामावलीमा नेता महतोलाई चित्त बुझेको छैन । उनले आफ्ना थुप्रै मान्छे छुटेको भन्दै उनीहरूलाई समावेश गर्न माग गरेका छन् ।

अध्यक्ष ठाकुरले पनि विभिन्न छलफल तथा बैठकमा केन्द्रीय समिति विस्तार गर्ने र छुटेका व्यक्तिलाई समावेश गर्ने प्रतिबद्धता जनाएका छन् । तर त्यही प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै नेता महतो अध्यक्ष ठाकुरप्रति आक्रोशित छन् ।

पछिल्लो समय पार्टीका नेता एवं मधेसका प्रदेशसभा सदस्य अभिराम शर्मालाई अदालतले जन्मकैदको फैसला सुनाएपछि नेता महतोले सरकारबाट पार्टीलाई फिर्ता गर्न अध्यक्ष ठाकुरसमक्ष आग्रह गरेका थिए । तर अध्यक्ष ठाकुरले सरकारलाई दिएको समर्थन यथावत् रहने र अभिराम शर्माको बारेमा कानुनी उपचार खोज्ने भन्दै विज्ञप्ति जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्