झिनो अङ्कले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट



काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ३ कारोबार दिनदेखि बढेको नेप्से, यस दिन भने झिनो अङ्क घटेर बन्द भएको हो।बिहीबार नेप्से परिसूचक ०.६२ अङ्क घटेर २०८८.९९ विन्दुमा झरेको छ। त्यसै गरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.०३ अङ्क बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा ३०७ स्टकको ७९ हजार ३८९ पटकको कारोबारमा ४ अर्ब ३० करोड ७७ लाख रुपैयाँ बराबरको २ करोड २१ लाख ३२ हजार कित्ता सेयर कारोबार भएको छ।

बिहीबार नेप्से घटे पनि ८ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हिमालयन रिइन्स्योरेन्स र मेगा म्युचुअल फण्ड १ को सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो बिहीबार ९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्रको मूल्य सर्वाधिक ९.६० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा बिहीबार हिमालयन बैङ्कको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। सो बैङ्कको यस दिन २३ करोड ८५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको छ। त्यसै गरी,बिहीबार नेपाल रिइन्स्योरेन्सको साढे १९ करोडभन्दा बढीको संस्थापक सेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको करिब १६ करोडको सेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये  ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। बिहीबार जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ भने जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस्