सरकार सत्ता जोगाउन बढी केन्द्रित रहेको जसपाको निष्कर्ष



काठमाडौँ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालले अहिलेको  सरकार कामभन्दा पनि सत्ता जोगाउन बढी केन्द्रित भएको निष्कर्ष निकालेको छ ।पार्टीको राजनीतिक समितिको बैठकमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सरकारले १ वर्ष पूरा गरे पनि गठबन्धनको साझा न्यूनतम कार्यक्रमअनुसार काम नभएको निष्कर्ष निकालेको हो ।

गठबन्धन सरकारले गरेको प्रतिबद्धता अनुरूप संविधानको रक्षा र आवश्यकताअनुसार परिमार्जन एवं विकास गर्ने काम हुन नसकेको जसपाको भनाइ छ । जसपाले देशको अर्थतन्त्र सुदृढ गर्न केही नीतिगत प्रतिबद्धता आए पनि संरचनागत सुधारको काम प्रारम्भ हुन नसकेको जनाएको छ ।

सरकार गठन लगत्तै सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा गरेको प्रतिबद्धता तथा भ्रष्टाचार विरुद्धको कारबाहीले गर्दा सरकारप्रति जनताको भरोसा बढे पनि पछिल्ला दिनमा सरकारका बिस्तारै कमजोर हुँदै गएको जसपाको ठहर छ ।

सबै किसिमका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, मिटर ब्याज, लघुवित्त र सहकारी पीडितलाई न्याय दिने, उखु किसानहरूलाई बक्यौता भुक्तानी र न्यूनतम मूल्य निर्धारण, लामो समयदेखि आउन नसकेको शिक्षा विधेयकलाई संसद्मा दर्ता गर्ने तथा लाखौँ सुकुम्वासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासी र स्ववासीहरूको समस्या समाधान गर्न एकसाथ जग्गाधनी प्रमाणपत्र दिने तयारी लगायतका काम सकारात्मक रहेको जसपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्