सुदूरपश्चिम प्रादेशिक महोत्सवमा काँग्रेस नेता बलायरलाई ९ किलोको माला



काठमाडौँ । कैलालीको अत्तरियामा सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा काँग्रेस नेता वीरबहादुर बलायरलाई ९ किलोको माला लगाइए स्वागत गरिएको छ । प्रादेशिक महोत्सवको आयोजक अत्तरिया उद्योग वाणिज्य सङ्घले पूर्व मन्त्रीसमेत रहेको प्रतिनिधि सभा सदस्य बलायरलाई नौ किलोग्रामको माला लगाएको हो।

कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बलायरलाई छ ओटा मागसहित नौ किलोको माला लगाइएको हो । कैलालीको अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको उद्घाटन गर्न पुगेका उनलाई नौ किलोको माला लगाइएको लगाउँदै माग पत्रसमेत बुझाएको हो।

सङ्घको माग पत्रमा गोदावरी नगरपालिका क्षेत्रभित्र खुल्ला मञ्चको व्यवस्थापन गरी विकास गर्न, गोदावरी धाम तथा हाटखोली क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा घोषणा गरी कार्य सञ्चालन गर्न, सुदूरपश्चिम प्रादेशिक राजधानी यथाशीघ्र कार्यान्वयनमा ल्याउन र गेटा विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक पहल गर्न माग गरिएको छ ।

अत्तरिया बजार क्षेत्रको भीमदत्त राजमार्ग पूर्वपट्टिको नेपाली सेनाको भोगाधिकार रहेको जग्गामा वर्षौँदेखि घर टहरा बनाई व्यापार व्यवसाय गर्दै आएकाहरूको हकहितमा हुने गरी कार्यान्वयन गराई आवश्यक पहल गरिदिन र गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको रूपमा सञ्चालन गर्न आवश्यक पहल गरिदिन माग पत्रमा उल्लेख गरिएको छ ।

प्रादेशिक महोत्सव सुदूरपश्चिमका नौ ओटै जिल्ला समेट्ने गरी नौ किलोको माला लगाइएको आयोजकले बताएको छ। आठौँ संस्करणको महोत्सव आजबाट सुरु भएको छ। माघ ७ गतेसम्म महोत्सव सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्