नामिबियामाथि नेपालको रोमान्चक जित



काठमाडौँ । नेपालले आइसिसी यु१९ विश्वकप अघि दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हराएको छ । दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको लगातार दोस्रो जित हो । जितको लागि १ सय ४२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नामिबिया २९।५ ओभरमा १ सय ३५ रनमा अल आउट भयो । नामिबियाका कप्तान बसिंग-वोल्स्चेंकले ४९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए पनि जिताउन सकेनन् ।

नेपालका गुलशन झाले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ५.५ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । दुर्गेश गुप्ताले ६ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । वर्षाको कारण ढिलो सुरु हुँदा खेल ३० ओभरमा झारिएको थियो ।

नेपालका लागि १० औँ नम्बरमा आएका दीपक डुम्रे २२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनमा नट आउट रहे । ओपनर अर्जुन कुमाल १, विपिन रावल २०, देव खनाल डक, गुलशन झा ३, दीपक बोहरा ५, उत्तम थापा मगर १२, आकाश त्रिपाठी २१, विशाल बिक्रम केसि १४ र दीपक बोहरा १५ रनमा आउट भए ।

नामिबियाका जे करिआटा, जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान दुई विकेट लिए । नेपालले पहिलो अभ्यास खेलमा स्कटल्याण्डलाई १ सय ३५ रनले हराएको थियो । नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्ट इन्डिजसँग वार्मअप खेल्नेछ ।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्