कर्मचारी निलम्बन गर्ने बालेनको निर्णयमा अदालतले दिएन अन्तरिम आदेश



बालेन

काठमाडौँ । उच्च अदालत पाटन इजलासले काठमाडौँ महानगरपालिकाविरुद्ध निलम्बित कर्मचारीले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । महानगरपालिका कार्यपालिकाले गरेको निर्णय हेरफेर गर्न भूमिका खेलेको भन्दै मेयर बालेन शाहको निर्देशनमा निलम्बन भएका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले  निलम्बन रोक्न अन्तरिम आदेशको माग गर्दै उच्च अदालतमा रिट दिएका थिए ।

२९ पुसमा उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

१६ पुसमा कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौँ महानगरपालिकाका तीन कर्मचारी निलम्बन भएका थिए । मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी अहिलेसम्म निलम्बनमा छन् ।

कार्यपालिकाले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको थियो । तर, निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि उनीहरू छानबिनमा परेका थिए ।

महानगरपालिकाले यो प्रकरणको सहरी योजना आयोगका उपाध्यक्ष डा। सुमननरसिंह राजभण्डारीको संयोजकत्वमा समिति गठन गरेर छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्