लोप हुुँदै दरबारमा खाइने लेउ



काभ्रेपलाञ्चोक । लेउमा लागे लडिन्छ, छेउ लागे अडिन्छ । लेउबारेको सामान्य बुुझाइ यस्तै छ । तर लेउको स्वादिलो परिकार पनि बन्छ र त्यो दरबारमा राजा महाराजाको खान्की बन्छ भन्ने कमैलाई थाहा होला ।

काभ्रेपलाञ्चोक जिल्लाका रोसी खोला, बेथानचोक, ढुङ्खर्क र काठमाडौँको फुल्चोकी पहाड वरिपरि बग्ने ससाना ठाडा खोलामा पाइने लेउ साँच्चिकै स्वादिलो हुने भएकाले दरबार र पाँचतारे होटलसम्म पुग्ने गरेको छ ।

कात्तिकदेखि फागुनसम्मका पाँच महिनासम्म घाम लाग्ने सफा उच्च प्रवाहमा बग्ने पानीको ढुङ्गामा टाँसिएर रहने सिमाली त्यही लेउ हो । असला माछाको जस्तै स्वाद हुने यो लेउ एक हजार पाँच सयदेखि दुई हजार मिटर उचाइका खोलामा पाइन्छ । नेपालमा ९९८ प्रकारका लेउ पाइन्छन् ।

खोलाको ढुङ्गामा टाँसिएर रहेको लेउलाई स्थानीयले सङ्कलन गरी बिस्कुन सुकाउने मान्द्रामा राखेर करिब आठ इन्चको वर्गाकार पापड बनाउने गर्छन् । पापडलाई राम्रोसँग घाममा सुकाएर भण्डारण गर्छन् । रुचि र स्वाद अनुसार फरक फरकका परिकार बनाएर खान्छन् ।

स्थानीयले घरायसी प्रयोजनसँगै सिमाली लेउलाई आयआर्जनको वस्तुुका रूपमा पनि कारोबार गर्छन् । वनस्पतिविद् डा। मोहनलाल वनर्जीले सन् १९५५ मा जर्नल अफ द बम्बे नेचुरल हिस्ट्री सोसाइटीमा प्रकाशित लेखमा सिमाली इन्द्रचोकको बजारमा पाइने उल्लेख गरिएको थियो । त्यसैलाई पछ्याउँदै ६२ वर्षपछि सन् २०१७ मा राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालामा त्यसको अनुसन्धान सुरु भएको छ । तर यो अहिले लोप हुने अवस्थामा पुगेको छ ।

पनौती पर्यटन केन्द्रका अध्यक्षसमेत रहनुभएका पुरुषोत्तम कर्माचार्य असला माछा लोप हुने अवस्थामा पुगेसँगै सिमाली पनि लोप हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले असला माछाको मुख्य आहार नै सिमाली रहेकाले त्यसको स्वाद असला माछाको जस्तै रहेको बताउनुभयो ।

आफूले किराना पसल सञ्चालन गर्दा हिउँदमा सिमाली ल्याएर बेच्ने गरेको, स्थानीय धेरै रहने गरे पनि अहिले भने सिमाली पाउन नै मुस्किल पर्न थालेको उल्लेख गर्नुभयो ।

“विसं २०५५ सालसम्म स्थानीय मास्के धउ बाज्याले त राणा र राजाको दरबारसम्म सिमाली लगेर बेच्ने गर्नुहुन्थ्यो । उहाँको निधनपछि पनौतीबाट सिमाली दरबारमा जान छाडेको हो,” कर्माचार्यले बताउनुभयो ।

वनस्पति विभाग प्रयोगशाला ललितपुरले गरेको अध्ययन अनुसार सिमालीमा प्रोटिन, कार्बोहाइड्रेट, बोसो, रेसा, क्षार र फलामको तìव पाइन्छ । तिहारमा सो क्षेत्रका दिदीबहिनीले आफ्ना दाजुभाइलाई तेलमा तारेर पापड बनाए जस्तै गरी बनाएर दिने प्रचलन पनि विद्यमान छ । तथापि सिमालीको संरक्षण र प्रवर्धनमा स्थानीय तहले पनि खासै चासो र चिन्ता भने गरेको देखिँदैन ।

सङ्कटमा पर्दै गएको लेउले संरक्षणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष योजना ल्याउन ढिला गर्न नहुने पर्यटन केन्द्रका अध्यक्ष कर्माचार्यले उल्लेख गर्नुभयो ।

पानीमा बढिरहेको प्रदूूषण नै सिमाली लोप हुने अवस्थामा पुग्नुको प्रमुख कारण हो । सिमाली पाइने क्षेत्रमा व्रmसर उद्योग स्थापना भएसँगै पानी धमिलो हुन थालेपछि सिमालीको अस्तित्व नै मेटिने अवस्थामा पुगेको हो ।

पनौतीका स्थानीय विवेक भट्टराईले ढुङ्गाखानीका कारण रोसीको पानी प्रदूषित हुँदै जाँदा सिमाली लेउ सङ्कटमा पर्दै गएको बताउनुभयो । वनस्पति विभागले २०७७ सालमै गरेको एक अध्ययनले पनि खानीबाट ढुङ्गा निकाल्दा पानी धमिलो हुनेलगायतका समस्याले परम्परागत लेउ हराउँदै गएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

विशिष्ट मौलिक वातावरणमा मात्रै हुने भएकाले सानो अवरोधले पनि सिमली लेउको वासस्थान हराउँदै गएकोमा स्थानीय भने चिन्तामा छन् । स्थानीय ज्येष्ठ नागरिक विकुनारायण ताम्राकार स्वास्थ्यवर्धक सिमालीको संरक्षणमा योजना ल्याउन ढिला गर्न नहुनेमा जोड दिनुभयो । बेथानचोक ढुङ्खर्कका बद्री तिमल्सिना खोलामा माछा मार्न प्रयोग हुने रसायन, कृषिजन्य र घरेलु फोहोरले पानी प्रदूषित हुँदा पनि लेउ सङ्कटमा परेको बताउनुभयो । आजको गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्