सूर्यको घातक बलिङ  बागमतीले आर्मीलाई हरायो



काठमाडौँ । स्पिनर सूर्य तामाङको उत्कृष्ट प्रदर्शनमा जारी प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई हराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले आर्मीलाई ३ विकेटले हराएको छ ।

टस जितेर ब्याटिङको निर्णय गरेको आर्मी सूर्यको घातक बलिङ सामु निक्न नसकेपछि २७.१ ओभरमा ९७ रन बनाउँदै अलआउट भएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए । भीम सार्कीले १८ रन बनाए भने विवेक यादव ११ रनमा अविजित रहे । अन्य कुनै ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सोमपाल कामी र कुशल मल्लले खाता नै खोल्न सकेनन् ।

हिजो मङ्गलवारको खेलमा मधेश प्रदेशविरुद्ध ६ विकेट लिएका सूर्यले आर्मीविरुद्ध ५ विकेट लिए । उनले भीम सार्की, कुशल मल्ल, वसिर अहमद, सन्दीप रजाली र साहब आलमलाई आउट पारेका हुन् ।

९८ रनको लक्ष्य पछ्याएको बागमतीको सुरुवात भने राम्रो भएन । ५४ रन बनाउँदा ५ विकेट गुमाएको स्थितिबाट सम्हालिँदै बागमतीले ९८ रनको लक्ष्य २२.१ ओभरमा पुरा गरेको हो ।

बागमतीलाई जिताउन प्रतिश जीसीले नटआउट २१ रन बनाए । आठौँ नम्बरमा ब्याटिङमा आएका उनले २४ बलमा १ चौका र १ छक्का हानेका थिए । पाँचौँ नम्बरमा ब्याटिङमा आएका अशोक पौडेले २१ रनमै अल आउट भए । आर्मीको सोमपाल कामीले ३ तथा सहाब आलम र जितेन्द्र मुखियाले समान २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्