खुलामञ्चलाई फुटबल मैदान होइन, जनआवाज खुला रूपले मुखरित गर्न स्थल बनाऊ : बाबुराम भट्टराई



काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले खुलामञ्चलाई खुल्लै राख्नुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाले खुलामञ्च मासेर फुटबल मैदान बनाउने विषय बाहिरिएपछि उनले सामाजिक सञ्जाल मार्फत यस्तो अपिल गरेका हुन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल हो । मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मञ्चमा ऋषिकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको अझै सम्झना हुन्छ ।’

उनले खुलामञ्चलाई अझै व्यवस्थित गरेर आमजनता र सङ्गठनहरूले जनआवाज खुला रूपले मुखरित गर्न सक्ने सार्वजनिक स्थल बनाउनुपर्ने बताएका छन् । ‘जीवन्त लोकतन्त्रमा संसद् मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्त्वपूर्ण थलो हुन्छ भन्ने नभुलौँ,’ उनले भनेका छन् । हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रका निम्ति शुभसंकेत नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्