पार्किङ हटाइएपछि न्युरोडका व्यवसायी गरे सटर बन्द 



 काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्किङ हटाएपछि न्युरोड क्षेत्रका व्यवसायी आक्रोशित भएका छन् । महानगरपालिकाले पार्किङ हटाउने निर्णय गरेर आफूहरूलाई समस्यामा पारेको व्यवयासीहरुको गुनासो छ ।

न्युरोडको पार्किङ पुरानो बसपार्कमा कायम गर्ने निर्णयले मन्दीको व्यापारमा थप मन्दी उत्पन्न हुने व्यवसायीहरुको गुनासो रहेको छ  । पार्किङ गर्न नदिने निर्णयले व्यवसाय चौपट हुने भन्दै उनीहरूले सटर बन्द गर्ने घोषणा गरेका छन् ।

यसअघि दरबारमार्ग क्षेत्रमा पनि व्यवसायीहरुले यसै गरी महानगरविरुद्ध प्रदर्शन गरेपनि महानगरले निर्णय भने सच्याएको थिएन । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरेसँगै महानगरपालिकाले मङ्गलवार बिहानैदेखि कडाइ गर्न थालेको छ । मङ्गलवार बिहान बिहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकलहरू नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको महानगरपालिकाले जनाएको छ ।

पार्किङ निषेध गरिएका स्थानहरूमा ‘नो पार्किङ’ का सङ्केत चिह्न राखिएका छन् । यसै गरी नगर प्रहरी खटाएर पार्किङ गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी पनि गराउने गरेको छ ।

नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौँ टावर ९साबिक पुरानो बसपार्क० मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको महानगरले जनाएको छ ।  यस ठाउँमा ३ सय वटा चार पाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ ।

सोमबारसम्म धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महावौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ हुने गरेको थियो । यस्तै बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पनि महानगरले पार्किङ निषेध गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्