विद्युत् आयात प्रभावित हुँदा उद्योग समस्यामा



काठमाडौँ ।  पछिल्लो समय नेपालका औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ । आन्तरिक उत्पादन घट्दै गएको तर सम्बन्धित स्थानमा विद्युत् आपूर्ति गर्न पूर्वाधारको समस्या रहेकाले पनि उद्योग क्षेत्रमा पिक समयमा विद्युत् आपूर्ति गर्न समस्या भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

उद्योग सङ्गठन मोरङले पछिल्ला केही दिन बिहान र बेलुकी गरी आठ घण्टासम्म बिना पूर्वसूचना विद्युत् आपूर्ति अवरोध हुँदा उद्योग सञ्चालनमा समस्या  आइरहेको छ ।  प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक मनोजकुमार सिलवालका अनुसार पिक समयमा भारतबाट पर्याप्त विद्युत् आपूर्ति हुन नसक्दा अवस्था हेरी आलोपालो गरी ३३ केभी प्रसारण लाइनमा विद्युत् विच्छेद गर्ने गरिएको छ । प्राधिकरणले अहिले दैनिक करिब ४५० मेगावाटसम्म विद्युत् आयात गरिरहेको छ । इन्डियन इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटबाट ढल्केबरसम्म पर्याप्त विद्युत् आपूर्ति गर्न सकिन्छ तर आन्तरिक प्रसारण लाइनको सीमितताले गर्दा आवश्यक ठाउँमा विद्युत् पुर्‍याउन सकिन्न ।

पूर्वी नेपालमा विद्युत् आपूर्ति गर्न कुसाहा–कटैया प्रसारण लाइन, मध्य तथा पश्चिम नेपालका लागि रक्सौल–परवानीपुर तथा गण्डक प्रसारण लाइनबाट विद्युत् आपूर्ति गर्नुपर्ने हुन्छ तर विहार विद्युत् बोर्डले पिक समयमा आफ्नै क्षेत्रमा विद्युत् पुर्‍याउनुपर्ने भएकाले नेपालतर्फको आपूर्ति रोक्ने गरेको छ ।

साँझको समयमा सौर्य विद्युत् उत्पादन बन्द हुने भएकाले विहारले सो समयमा आफैँले पनि महँगोमा विद्युत् खरिद गर्नुपर्ने हुन्छ तर नेपालसँगको सम्झौता फिक्स्ड रेटमा भएकाले पिक समयमा विहारले नेपालमा विद्युत् आपूर्ति दिन चाहँदैन ।

विद्युत्को जडित क्षमता दुई हजार ८९० मेगावाट रहेको भए पनि मुलुकभित्रको कुल उत्पादन अहिले आधाभन्दा कम छ । पुस ७ गते प्राधिकरणले रेकर्ड गरेको पिक डिमान्ड एक हजार ९६३ मेगावाट छ तर सो दिन आन्तरिक उत्पादन भने एक हजार ३५६ मेगावाट मात्र भयो भने भारतबाट ४०८ मेगावाटसम्म विद्युत् आयात भएको देखिन्छ । यस अनुसार १९९ मेगावाट विद्युत् पिक डिमान्डका समयमा आपूर्ति हुन सकेन र औद्योगिक ग्राहकको विद्युत् केही समय अवरुद्ध गरिएको थियो ।

उद्योगहरूमा केही समय आपूर्ति काटिए पनि सर्वसाधारण उपभोक्ताको घरमा विद्युत् आपूर्ति अविच्छिन्न रहेको प्राधिकरणले जनाएको छ । विद्युत्को आपूर्तिभन्दा माग विस्तार तीव्र भएकाले पनि आपूर्ति सन्तुलनमा प्राधिकरणलाई समस्या परेको छ । गत वर्ष पुस ७ गते करिब ११ सय मेगावाट विद्युत् आन्तरिक उत्पादन भएको थियो भने पिक डिमान्ड एक हजार ६३० मेगावाट थियो ।

प्रतिक्रिया दिनुहोस्