जनमतले मधेसमा सरकार छाड्नुको कारण के हो ?



काठमाडौँ । जनमत पार्टीले मधेस सरकार छाडेको छ । मङ्गलवार जनमतको संसदीय दलको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउँदै सरकारबाट फिर्ता हुने निर्णय गरेको हो । शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले मङ्गलवार नै मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएका थिए । मुख्यमन्त्री सरोजकुमार यादवले सरकार सञ्चालनमा एकलौटी गरेको, जानकारी नै नदिई मन्त्रालय फुटाएको, पार्टीले सिफारिस गरेका राज्यमन्त्री नियुक्त नगरेको र मन्त्रीहरूलाई काम गर्न नदिएकाले सरकार छाडेको जनमत पार्टीको आरोप रहेको छ ।

२६ पुस २०७९ मा जनमत पार्टी समेतको समर्थनमा जनता समाजवादी पार्टी (जसपा)को सरोजकुमार यादव मुख्यमन्त्री बनेका थिए । सरकार नै छाड्ने परिस्थिति भने राजविराज झडपले बनाएको जनमतका नेताहरू बताउँछन् ।

सोमबार मधेस सरकारले राजविराज नगरपालिका वडा नम्बर १३ मा मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम राखेको थियो । मधेस सरकारको बजेटमा भवन बन्न लागेकाले कुलपति समेत रहेका मुख्यमन्त्री यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउन चाहे ।

यादव यही क्षेत्रबाट २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग हारेका थिए । १० वैशाख २०८० को उपचुनावमा बारा २ बाट प्रतिनिधिसभा सदस्य भएका उपेन्द्रको हातबाट भवन शिलान्यास गर्न खोजेपछि जनमतले विरोध गर्‍यो ।

सहकुलपति (मधेशका शिक्षामन्त्री) मधेस यादव जनमत पार्टीका हुन्, यो क्षेत्रको प्रतिनिधिसभा सदस्य राउत आफैँ भए । उनीहरूले विरोध गरेपछि विवाद केन्द्रसम्म आइपुग्यो । सत्ता गठबन्धनका नेताहरूले मध्यमार्गी उपाय निकाले, मुख्यमन्त्रीले उद्घाटन गर्ने । जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहमत भए ।

तर कार्यक्रम स्थलमा पुगेपछि जसपा अध्यक्ष उपेन्द्र यादव आफैँले शिलान्यास गरे । जनमतका नेता कार्यकर्ताले त्यसको विरोध गरेपछि झडप भयो, प्रहरीले बल प्रयोग गर्दा मधेशका शिक्षामन्त्रीसहित ३ जना घाइते भए ।

जसपाले दम्भ देखाएको र चुनाव हारेका उपेन्द्र यादवबाट भवन उद्घाटन गराएर सप्तरी २ का जनतासँग चुनावमा हारको बदला लिन खोजेकाले सरकार छाड्ने निर्णय लिएको जनमत पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्