नयाँ सडक क्षेत्रलाई सवारीमुक्त बनाइने



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ ।

काठमाडौँ महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार सुनील लम्सालले आमनागरिकको सहज आवागमन, सहरी सौन्दर्य करण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना तयार गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको छ । दोस्रो चरणमा यात्रु चढाउने र ओराल्ने ९पिक एन्ड ड्रप० प्रणाली लागु गरिने छ र त्यसको लागि आवश्यक तयारी भइरहेको छ ।

नयाँ सडक क्षेत्रमा पार्किङका लागि ह्विल्स ट्रुली योर्स कम्पनीसँग २०७६ सालमा भएको सम्झौताको म्याद माघ ९ गते सकिएको थियो । उक्त कम्पनीसँग भएको सम्झौता नवीकरण नगरी म्याद सकिएकै दिनदेखि नयाँ सडक क्षेत्रको सडकमा पार्किङ निषेध गरिएको पूर्वाधार विकास सल्लाहकार लम्सालको भनाइ छ ।

समान खरिद गर्न आउने ग्राहक वर्गको सवारी साधन पार्किङ व्यवस्थापनको पहिलो जिम्मेवारी सम्बन्धित पसल सञ्चालक र व्यापारिक केन्द्र सञ्चालकको नै रहेको उहाँले स्पष्ट पार्नुभयो । महानगरले व्यक्तिपिच्छेको सवारीसाधनका लागि पार्किङ उपलब्ध गराउन नसक्ने भएकाले पसल र व्यापारिक केन्द्र सञ्चालकले नै आफ्ना ग्राहकका लागि पार्किङको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

आमनागरिकलाई उपयुक्त विकल्प दिएर मात्र नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरिएको सल्लाहकार लम्सालको भनाइ छ । उहाँले नयाँ सडकको नजिकै निर्माणाधीन धरहरामा, काठमाडौँ मल (सञ्चय कोष भवन) मा र साबिकको पुरानो बसपार्कस्थित काठमाडौँ टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको जानकारी दिनुभयो ।

पुरानो बसपार्कस्थित काठमाडौँ टावरको पार्किङमा तीन सय वटा चारपाङ्ग्रे र सात सय वटा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिन्छ । सडकमा पार्किङ निषेध गरिएपछि नयाँ सडक क्षेत्र सुन्दर देखिने र सवारी आवागमन पनि सहज हुने विश्वास गरिएको उहाँको भनाइ छ । आजको गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्