फतुवा विजयपुरमा नाग देवताको दर्शन गर्नेहरूको भीड 



नाग देवता

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका-३ स्थित सर्प देखिएपछि नाग देवता भन्दै हेर्नेको भीड लागेको छ । फतुवा विजयपुर  वडा ३ मेवा गाउँ र टेंग्राहाको बिचमा नाग देखिएको हो । उक्त स्थानमा मङ्गलवार बिहानदेखि नाग देवताको दर्शन गर्नेहरूको भीड लागेको  स्थानीय वीरेन्द्र यादवले बताए ।

पछिल्लो तीन दिनदेखि उक्त स्थान नहरको छेउमा नाग देखिने गरेको उनले बताए । नहर छेउको खेतको दुलोबाट बिहान १० बजे  निस्केर दिउँसो ३ बजेसम्म एउटै स्थानमा बस्ने गरेको गाउँलेहरूले बताएका छन् । नाग देवता भनिएको उक्त सर्प जस्तै केही समयअघि कटहरियामा पनि देखिएको थियो । उक्त सर्पलाई ब्ल्याक कोबरा भनिएको थियो ।

यसअघि जिल्लाको उत्तरी भेग गुजरा नगरपालिका अन्तर्गत जङ्गलमा नाग देवता देखिएको भन्दै दैनिक हजारौँ मानिसको भीड लागेको थियो । स्थानीयको अनुरोधमा मेयर सन्तलाल चौधरीले नाग निस्कने स्थान पुलको छेउ जङ्गलमा मन्दिर निर्माणको लागि शिलान्यास गरेका थिए । शिलान्यासको केही दिनपछि उक्त स्थानमा एक महिनादेखि देखिँदै गरेको सर्प आउन छोडेपछि मन्दिर निर्माण  हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्