बैंकक प्रस्थान गर्न लागेका यात्रुको थाई भाट चोरी गर्ने पक्राउ



काठमाडौँ । बैंकक प्रस्थान गर्न लागेका यात्रुको थाई भाट चोरी गर्ने  एक जना पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बायुसेवा निगमको लोडरको रूपमा कार्यरत दैलेख महावु गाउँपालिका९३ घर भई काठमाडौँ काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार बुधबार दिउँसो पक्राउ गरिएको हो।

याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात सिसिटिभि समेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देव बहादुरको गतिविधि शङ्कास्पद देखिएकोले नियन्त्रणमा लिइएको हो । अनुसन्धानको क्रममा उनले उक्त थाई भाट चोरी गरेको खुल्न आएको हो । साथै उनको शरीर तथा लकर तलासी गर्दा विभिन्न दरका थाई भाट १९ हजार ४ सय समेत बरामद भएको छ । उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्