अष्ट्रेलियालाई हराउँदै दक्षिण कोरिया एसियन कपको सेमिफाइनलमा



दक्षिण कोरिया

काठमाडौँ । बलियो प्रतिद्वन्द्वी अष्ट्रेलिया माथि अतिरिक्त समयमा जित हासिल गर्दै दक्षिण कोरिया कतारमा जारी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । १० जनामा समिति अष्ट्रेलिया माथि दक्षिण कोरियाले २-१ को जित निकाल्न सफल भएको हो ।

खेलमा दक्षिण कोरियाले पछि परेको अवस्था उल्ट्याउँदै जित निकालेको थियो । तर सुरुवातमा दक्षिण कोरियाले अग्रता लिए पनि गोल भने रद्द हुन पुग्यो । ३१औँ मिनेटमा योङ-वु सियोलले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड भएका कारण सो गोल रद्द गरेका थिए ।

४१औँ मिनेटमा अष्ट्रेलियाले खेलमा अग्रता लिन सफल भयो । एटकिन्सनको क्रसमा क्रेज गुडविनले भली प्रहारमा गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए ।तर दक्षिण कोरियाले पुनः नाटकीय रूपमा खेलमा बराबरी गर्यो । प्रि९क्वाटरफाइनलमा साउदी अरेबिया विरुद्ध इन्ज्युरी समयमा बराबरी गर्दै टाईब्रेकरमा जित हासिल गरेको कोरियाले पुनः इन्ज्युरी समयमा बराबरी गोल गरेको थियो ।

इन्ज्युरी समयको पाँचौँ मिनेटमा कप्तान सन ह्यूङ मिनले जितेको पेनाल्टीमा ह्वांग हि-चानले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याई अतिरिक्त समयमा धकेलेको थिए ।अतिरिक्त समयको १३औँ मिनेटमा कोरियाले अग्रता लियो । कप्तान सनले उत्कृष्ट फ्रिकिक प्रहारमा गोल गर्दै कोरियालाई अग्रता दिलाए ।

अतिरिक्त समयको पहिलो हाफको अन्त्यतिर एइडन ओ’निलले रातो कार्ड पाएपछि अष्ट्रेलिया १० जनामा सिमित भएको थियो । त्यसपछि पनि कोरियाले अवसरहरू सिर्जना गरे पनि थप गोल भने गर्न सकेन ।

दक्षिण कोरियाले अब सेमिफाइनलमा जोर्डन विरुद्ध खेल्ने छ । जोर्डनले शुक्रबार नै ताजिकिस्तान विरुद्ध जित हासिल गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।शनिबार बाँकी दुई क्वाटरफाइनल खेल हुने छन् । साँझ ५:१५ बजे हुने खेलमा इरान र जापान भिड्ने छन् । यस्तै राति ९:१५ बजे घरेलु टोली कतार र उज्बेकिस्तानबीच खेल हुनेछ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्