प्रधानमन्त्री कपको फाइनल : उपाधिको लागि पुलिस र आर्मी भिड्दै



काठमाडौँ । छैटौँ संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै छ । खेल बिहान ९ : १५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

पुलिस अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा  पुगेको हो। पुलिसले लिगका सबै ९ खेल जितेको थियो । आर्मी ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अङ्कका साथ दोस्रो स्थानमा रहेर फाइनमा पुगेको हो । लिग चरणमा आर्मी पुलिससँग भैरहवामा १३ रनले पराजित भएको थियो । पुलिसको दीपेन्द्रसिंह ऐरी र आर्मीको विनोद भण्डारीले कप्तानी गर्नेछन् । आर्मीका कप्तान विनोदले यस प्रतियोगितामा दुई शतक हानेका छन् ।

२०१९ मा पुलिस र २०२१ मा आर्मीले उपाधि जितेका थिए । सबै ६ संस्करणमा फाइनल खेल्ने आर्मी एक्लो टोली हो । प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार प्राप्त गर्नेछन् । उदीयमान खेलाडीले १० हजार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्