साविक विजेता कतार एसियन कपको सेमीफाइनलमा



काठमाडौँ । गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि शनिबार साविक विजेता तथा जारी एसियन कपको आयोजक कतार सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ ।

बार्शामको उत्कृष्ट प्रदर्शनमा उज्वेकिस्तान माथि टाइब्रेकरमा ३-२ को जित निकाल्दै कतार अन्तिम चारमा पुगेको हो । निर्धारित समय र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । टाइब्रेकरमा बार्शामले उज्वेकिस्तानका अशुरमाटोभ अब्दिराहमाटोभ र माशारिपोभको पेनाल्टी रोक्न सफल भएका थिए ।

कतारका अल्मोएज अलीको पेनाल्टी पनि बचाउ भएको थियो भने अल्माहदी अल मुख्तरले पोस्टको माथि प्रहार गरेका थिए । त्यसअघि निर्धारित समयको २७औं उत्किर युसुपोभको आत्मघाती गोलको मद्दतमा कतारले खेलमा सुरुवाती अग्रता लिएको थियो । उज्वेकिस्तानका लागि ५९औं मिनेटमा ओदिलजोन खाम्रोबेकोभले बराबरी गोल गरेका थिए ।

कतारले अब फाइनल प्रवेशका लागि इरान विरुद्ध खेल्ने छ । इरानले शनिबार नै जापान माथि जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको छ । अर्को सेमिफाइनल जोर्डन र दक्षिण कोरिया बीच हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्