धरहरा भूमिगत पार्किङमा आगो निभाउने यन्त्र जडान



काठमाडौँ। काठमाडौँ महानगरपालिकाले धरहराको भूमिगत पार्किङमा आगो निभाउने यन्त्रहरू (फायर एक्सटिंग्विसर) जडान गरेको छ । निःशुल्क पार्किङ दिएको पहिलो तल्लामा ५ वटा सिलिन्डर सहित आगो निभाउने उपकरणहरू जडान गरेको महाजगरले जनाएको छ ।

निर्माणाधीन धरहराको भूमिगत पार्किङमा अहिले दैनिक करिब एक हजार दुई पाङ्ग्रे सवारी साधन निःशुल्क पार्किङ भइरहेको छ । काठमाडौँ महानगरले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि धरहराको भूमिगत पार्किङ खोलेको थियो । तर भूमिगत पार्किङमा मानवीय क्षतिको जोखिम लगायतको सुरक्षाको प्रश्न उठेपछि महानगरले आगो निभाउने उपकरणहरू जडान गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

९ माघदेखि न्युरोडमा पार्किङ निषेध गरेर पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौँ टावरको बहुतले पार्किङको विकल्प दिइएको थियो । न्युरोडका व्यवसायी आन्दोलित भएपछि महानगरले १४ माघदेखि निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीलाई अनुरोध गरेर धरहराको भूमिगत पार्किङको ३ तल्लामध्ये एक तलामा पार्किङ खुलाएको थियो ।

पार्किङ स्थलमा बत्ती र धुलोको समस्या छ । जसका कारण धरहरामा पार्किङ गर्न पुगेका सवारी धनीहरूले पार्किङ स्थलमा बत्तीको व्यवस्था तत्काल गर्न र धुलो उड्ने समस्या समाधान गर्न महानगरसँग अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्