राहुलको एमबीबीएस भर्ना शुल्क सुदूरपश्चिम प्रदेश सरकारले तिरिदिने



काठमाडौँ । एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका र प्रदेश सरकारको आर्थिक छात्रवृत्ति पाएर पनि शुल्क तिर्न नसकेर भर्ना छुटेपछि कैलालीका राहुल नेपालीले  पढ्न पाउने भएका छन् । नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले तिर्ने भन्दै सोमबार चिकित्सा शिक्षा आयोगलाई पत्र लेखेपछि नेपालीले एमबीबीएस  पढ्न पाउने भएका हुन् ।

राहुलले आयोगको एमबीबीएस प्रवेश परीक्षामा नाम निकालेका थिए । त्यसपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदान गर्ने छात्रवृत्ति कोटामा पनि उनी छनोट भएका थिए । तर मन्त्रालयको लापरबाहीका कारण राहुलको भर्ना म्याद नै नाघेको थियो । विपन्न परिवारका राहुलका परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफैँले जोहो गरेर भर्ना गर्न सक्ने अवस्था थिएन ।

राहुल युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल भैरहवामा भर्ना पाउने सूचीमा छनोट भएका थिए । सो टिचिङ हस्पिटलले भर्नाको म्याद पुस २६ गतेदेखि माघ ४ गतेसम्म तोकेको थियो । उक्त टिचिङ हस्पिटलले एमबीबीएसको अध्ययनका लागि ४६ लाख लाग्ने कूल शुल्कमा १५ लाख भर्ना हुने बेला नै बुझाउनु पर्ने भनेको थियो । तर राहुल परिवारले पैसाको जोहो गर्न नसकेर भर्ना नै छुटेको थियो ।

यसअघि उनले आफ्नो भर्ना छुट्न थालेको जानकारी गराउँदै सामाजिक विकास मन्त्रालयका कर्मचारी, मन्त्रीहरू सबैसँग गुहारेका थिए तर कसैले सुनेनन् । मन्त्रालयले टार्नका लागि माघ ३ गते ‘जो जससँग सम्बन्धित छ’ ब्यहोराको पत्र थमाएको थियो । त्यस ब्यहोराको पत्रलाई हस्पिटलले आधार मानेन । त्यसपछि सो विषयमा समाचार प्रकाशन भएपछि सामाजिक विकास मन्त्रालयमाथि दबाब परेको थियो ।

प्रमुख सचिव हरि लम्सालसमेतको सक्रियतामा सोमबार मन्त्रालयले चिकित्सा शिक्षा आयोगलाई भर्नाका लागि सहजीकरण गरिदिन आग्रह गर्दै शुल्क तिर्ने पत्र लेखेको हो । अब राहुलले भर्ना पाउने–नपाउने भन्ने यकिन फागुन पहिलो साता हुनेछ । भर्ना भएका विद्यार्थीहरूको पढाइ सुरु भएपछि कलेजहरूले सिट खाली हुने अवस्थामा भर्नाको (र्‍यापअप म्याचिङ लिस्ट) सूची निकाल्दछन् ।

कैलालीको गौरीगङ्गा नगरपालिका ६ कठौतिया बनबेहडा घर भई हाल भारतको पन्जाबमा मजदुरी गर्दै आएका रोहित नेपालीका छोरा हुन् राहुल । सानैदेखि पढाइमा मेधावी राहुलले गोदावरी नगरपालिका समैजी माध्यमिक विद्यालय मजगाउबाट एसईई उत्तीर्ण गरे । ए प्लस ल्याएर एसईई उत्तीर्ण राहुल प्लस टु अध्ययनका लागि अत्तरियाकै दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा भर्ना भए । साइन्स लिएर अध्ययन गरेका उनले प्लस टु मा पनि ए ग्रेड ल्याउन सफल भएका थिए । उनले घरमै बसेर एमबीबीएस प्रवेश परीक्षाको तयारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्