फेसबुक लाइभमा शिवसेना नेताको गोली हानेर हत्या



काठमाडौँ । भारतको मुम्बईमा शिवसेनाका नेता एवम् पूर्वपार्षद अभिषेक घोषालकरको गोली हानेर हत्या भएको छ । फेसबुक भिडियो लाइभमा कुराकानी गरिरहेका बेला उनीमाथि उनकै साथी मोरिसले गोली चलाएका थिए । अभिषेकलाई गोली हानेपछि मोरिसले पनि आफैँलाई गोली हानेर आत्महत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

भारतीय मिडियाहरूका अनुसार अभिषेक र मोरिस साथी–साथी हुन् । उनीहरूबिच केही दिन अघि विवाद भएको थियो । हत्याको कारण आपसी विवाद नै हुनसक्ने अनुमान गरिएको भारतीय मिडियाहरुले जनाएका छन् ।

सामाजिक सन्जालमा भाइरल भइरहेको एक भिडियोमा अभिषेक र रातो टिसर्ट लगाएका मोरिस एउटा कोठाभित्र सँगै देखिन्छन् । उनीहरू हाँसीखुसी भिडियो च्याट गरिरहेको देखिन्छ । केही बेरमा अभिषेक उठ्न खोज्दा उनीमाथि गोली चल्छ । अभिषेक कराउँदै लडखडाएको देखिन्छ । तर गोली चलाउने व्यक्ति भने भिडियोमा देखिँदैन ।

भारतीय मिडियाहरूका अनुसार अभिषेकलाई उनकै साथी मोरिसले आफ्नो अफिसमा बोलाएर गोली हानेका हुन् । त्यसपछि मोरिसले पनि आफैँमाथि गोली चलाएर आत्महत्या गरेको समाचारमा जनाइएको छ ।

अभिषेकलाई बोरीवली करुणा अस्पताल पुर्याइएको र उपचारको क्रममा ज्यान गएको मिडिया रिपोर्टहरुमा उल्लेख छ । मृतक अभिषेक शिवसेनाको उद्धव ठाकरे गुटका पूर्व विधायक विनोद घोषालकरका छोरा हुन् । बोरीवली विधानसभा क्षेत्रमा घोषालकर परिवारको दबदबा छ । मृतक अभिषेककी पत्नी तेजस्विनी हाल पार्षद छिन् । अभिषेक भने मुम्बईको दहिसर वार्ड नम्बर १ का पूर्व नगरसेवक हुन् । उनी मुम्बई बैंकको निर्देशकसमेत हुन् ।

गत हप्ता पनि महाराष्ट्रको उल्हासनगरमा विशसेनाको एकनाथ शिन्दे गुटका नेता महेश गायकवाडमाथि प्रहरी स्टेसनभित्रै गोली प्रहार भएको थियो ।

अभिषेकको हत्यापछि शिवसेना (उद्धव ठाकरे गुट)ले सरकारको आलोचना गरेको छ । उद्धव गुटका नेता एवम् सांसद सन्जय राउतले महाराष्ट्रका गृहमन्त्री देवेन्द्र फडनविसको राजीनामा मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्