श्रीलङ्काको जितमा निस्सान्काको कीर्तिमानी दोहोरो शतक



पाथुम निस्सान्का

काठमाडौँ । पाथुम निस्सान्काकोको किर्तिमानी दोहोरो शतकको मद्दतमा श्रीलंकाले अफगानिस्तान माथि जित हात पारेको छ । तीन एक दिवसीय श्रृंखला मध्य पहिलो खेलमा ४२ रनको जित निकाल्दै श्रीलङ्काले १-० को अग्रता लिएको हो ।

पाल्लेकेलेमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निस्सान्काको दोहोरो शतकको मद्दतले ३ विकेटको क्षतिमा ३८१ रनको विशाल योगफल खडा गरेको थियो ।

२४ वर्ष पहिले सनाथ जयसुरियाले भारत विरुद्ध बनाएको १८९ रनको कीर्तिमान तोड्ने क्रममा अविजित २१० रन बनाएर निस्सान्का श्रीलङ्काका लागि एक दिवसीय इनिङमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । यसका साथै श्रीलङ्काका लागि पहिलो दोहोरो शतक बनाउने क्रममा उनले १३९ बलमा २० चौका र ८ छक्का प्रहार गरे ।

उनले अभिस्का फर्नान्डोसँग मिलेर पहिलो विकेटमा लागि १९२ रनको साझेदारी समेत गरेका थिए । फर्नान्डो ८८ बलमा ८ चौका र ३ छक्काको मद्दतमा ८८ रन नै बनाएर आउट भएका थिए ।

यस्तै सदिरा समाराविक्रमाले ३६ बलमा ४५ रन बनाए भने कुशल मेन्डिसले ३१ बलमा १६ रन बनायो । चरिथ असलंका ७ रनमा अविजित रहे ।

अफगानिस्तानका लागि फरिद अहमदले दुई तथा मोहम्मद नबीले एक विकेट लिए ।

३८२ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३९ रन बनायो । अफगानिस्तानका लागि मोहम्मद नबी र अज्मतुल्लाह ओमारजाईले शतकीय इनिङ खेलेपनि टोलीलाई पार भने लगाउन सकेनन् ।

ओमारजाई ११५ बलमा १३ चौका र ६ छक्का सहित १४९ रन बनाएर अविजित रहे । नबी भने १३० बलमा १५ चौका र ३ छक्का सहित १३६ बनाएर आउट भएका थिए । ५५-५ को अवस्थाबाट यी दुई ब्याटरले छैटौँ विकेटका लागि २४२ रनको साझेदारी गरेका थिए । तर अन्य ब्याटर भने चल्न सकेनन् ।

श्रीलङ्काका लागि प्रमोद मधुसन एक्लैले चार विकेट लिए । यस्तै दुशमन्था चमिराले दुई विकेट लिन सफल भए । यस श्रृङ्खलाको दोस्रो खेल बुधबार हुने छ । तीन एक दिवसीय खेल पश्चात यी दुई टोली बीच तीन टी-२० खेलको तालिका समेत रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्