नेपालको लगातार दोस्रो जित



काठमाडौँ । एसिसी वुमन्स प्रिमियर कप २०२४ मा नेपालले लगातार दोस्रो जित निकालेको छ।  आइतबार नेपालले भुटानलाई ८ विकेटले पराजित गर्दै क्वार्टरफाइनल नजिक पुगेको छ।

भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो ।  नेपालको जितमा सीता रानामगरले नटआउट ३२ रन र रुबिना क्षेत्रीले नटआउट १७ रन बनाए। सीताले ३७ बलमा २ चौका र १ छक्का तथा रुबिनाले २४ बलमा १ चौका र १ छक्का प्रहार गरे।

नेपालकी ओपनर कविता कुँवर ५ रन र कप्तान इन्दू बर्मा १ रनमै आउट भएका थिए। कवितालाई भुटानकी अञ्जु गुरुङ र इन्दूलाई अञ्जुली घलेले आउट गरेका थिए।

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ४ विकेट गुमामएर ६५ रन जोड्यो।

भुटानका लागि ओपनर नवाङ छोडेनले नेपालकी कप्तान इन्दू बर्माबाट बोल्ड हुनुअघि ५० बलमा २५ रन जोडिन्। यस्तै छिरिङ जाङमोले १६ रन र डेचेन वाङमोले १७ रन जोडे।

नेपालका कप्तान इन्दूसहित कविता कुँवर, सीता रानामगर र कविता जोशीले १-१ विकेट लिए। समूह’डी’मा रहेको नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो। नेपालले समूहको अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ। समूहका शीर्ष दुई टिम क्वार्टरफाइनलमका पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस्