भारत र अष्ट्रेलिया यू१९ विश्वकप फाइनल खेल्दै



काठमाडौँ । आइसीसी यू१९ विश्वकपको उपाधिका लागि आइतबार हुने फाइनलमा साबिक विजेता भारत र अष्ट्रेलिया खेल्दै छन् । खेल जारी रहेको छ । अहिले अष्ट्रेलियाले ब्याटिङ गरिरहेको छ ।

भारतले सेमिफाइनलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै अष्ट्रेलियाले रोमान्चक खेलमा पाकिस्तानमाथि १ विकेटको जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । दुवै सेमिफाइनल खेलिएको बेनोनी मैदानमा नै फाइनल खेल हुनेछ ।

भारत र अष्ट्रेलिया दुवैले प्रतियोगितामा हार बेहोरेका छैनन् । आ९आफ्नो समूह र सुपर सिक्सको समूहमा पनि शीर्ष स्थान हासिल गर्दै दुवै फाइनलको यात्रा तय गर्न सफल भएका हुन् । भारतले सुपर सिक्सको खेलमा नेपाललाई पनि १ सय ३२ रनले हराएको थियो । त्यसबाहेक न्युजिल्यान्ड, अमेरिका र आयरल्यान्डलाई भारतले २ सय रन भन्दा बढी अन्तरले हराएको छ ।

अष्ट्रेलिया र भारतले यसअघि दुई पटक यू१९ विश्वकप फाइनलमा एक अर्कासँग खेलेका छन् । सन् २०१२ र २०१८ को दुवै संस्करणमा भारतले नै उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्