रविनाले छोरा–छोरीको हत्यापछि तेस्रो तलाबाट हाम फालेको प्रहरीको शङ्का



काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलस्थित ओचुहाइटमा शनिवार रविना महर्जन घरको तेस्रो तलाबाट हाम फालिन् । प्रहरीले उनको उद्धार गरेर घरभित्र जाँदा दुई जना बच्चा बच्ची पनि अचेत अवस्थामा  भेटिएका थिए । तीनै जनालाई ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो । तर, चिकित्सकहरूले मृत घोषणा गरे ।

रविनाले हाम फालेर आत्महत्याको बाटो रोजेको घर उनको आफ्नै हो । ३६ वर्षीया रविनाले दुई जना नाबालकको हत्या गरेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनका ६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रिवा छुट्टाछुट्टै कोठामा अचेत अवस्थामा भेटिएका हुन् ।

रविनाले बच्चाहरूको हत्या गरेर आत्महत्या रोजेको प्रारम्भिक अनुसन्धानबाट खुल्नमा आएको छ । पोस्टमार्टम रिपोर्ट आउन भने बाँकी रहेको छ ।
आमा र छोराछोरीको शव पाटन अस्पतालमा पोस्टमार्टम हुँदै छ । पोस्टमार्टममा संलग्न चिकित्सकहरूले अनुसन्धान अधिकृतहरूलाई ‘श्वास बन्द भएर’ दुई नाबालकको मृत्यु भएको जानकारी दिएका छन् ।  घटना हुँदा घरमा रविनाको सासू मात्रै थिइन् । उनी शारीरिक रूपमा अशक्त छिन् ।

प्रतिक्रिया दिनुहोस्