नेप्से घटे पनि कारोबार रकम भने बढ्यो



काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले ओरालो लागेको छ । अघिल्ला ४ कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से आज सामान अङ्कले ओरालो  लागेको हो ।

आइतबार नेप्से परिसूचक १०.५० अङ्क घटेर २०८५.८२ विन्दुमा झरेको छ। त्यसै गरी,  सेन्सेटिभ इण्डेक्स ३.८९ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.६२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अङ्क घटेको छ।

नेप्से घटे पनि आइतबार कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार ३ अर्ब २१ करोडको आइतबार सेयर कारोबार भएको बजारमा आइतबार ३०५ स्टकको ८३ हजार ८७७ पटकको कारोबारमा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ७१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आइतबार दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आइतबार  समाज लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसै गरी, आइतबार  त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्य ६.७१ प्रतिशत बढेको छ। कारोबारमा आएको एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन युनिलिभर नेपाल र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६२ करोड ४७ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १२ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। विकास बैङ्क, जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.८८ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्