दीपेन्द्रले लिग-२ को नामिबियाविरुद्धको पहिलो खेलमा गुमाउने



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत विहीबार हुने नामिबियाविरुद्धको पहिलो खेलमा गुमाउने भएका छन् । दीपेन्द्र सम्मिलित गल्फ जायन्टसले बुधवार साँझ आइएलटि२०को क्वालिफायरमा प्रतिस्पर्धा गर्दै छ । उनी उक्त खेलमा उपस्थित रहने भएकाले बिहीबार हुने नेपालको खेलमा उपस्थित नहुने भएका हुन् ।

उक्त खेलको नतिजा हेरेर दीपेन्द्रको अन्य खेलमा सहभागिता बारे निर्णय हुनेछ । दीपेन्द्रले आइएलटि२० मा विश्वस्तरीय खेलाडीविरुद्ध खेल्ने अवसर पाउनेछन् । त्यसैले पनि नेपालमा क्यानडा सिरिज र लिग-२ का केही खेल गुम्ने थाहा हुँदाहुँदै उनलाई उक्त लिगमा खेल्न प्रशिक्षक टोलीबाट स्वीकृति दिइएको थियो ।

नेपालले यसै जुनमा अमेरिका र वेस्ट इन्डिजमा टि२० विश्वकप खेल्दैछ । त्यसका लागि लिग-२ लगत्तै नेपालले लगातार तयारी सिरिजहरु पनि खेल्दैछ । दीपेन्द्रलाई उच्च स्तरीय खेलमा प्रतिस्पर्धा गर्ने अवसर आएकै कारण ओडीआई छोडेर यूएई जान स्वीकृति दिइएको थियो ।

दीपेन्द्रको अनुपस्थितिमा नेपालले देव खनाललाई मध्यक्रममा प्रयोग गर्ने सम्भावना रहेको छ । पवन सर्राफ अलराउन्डरको भूमिकामा रहे पनि क्यानडा सिरिजमा उनको प्रदर्शन औसत थियो । त्यसैले प्रशिक्षक मोन्टी देशाइले देवलाई मध्यक्रममा थपेर रोहित पौडेल र कुशल मल्लबाट पार्ट टाइम बलिङको ओभर निकाल्ने देखिन्छ ।

नेपाली समय अनुसार आज रातको ८: १५ बजे दीपेन्द्र सम्मिलित जायन्टसले एमआई इमिरेट्सको सामना गर्दै छ । आजको खेल जिते टोली सिधै फाइनल पुग्नेछ । आज हारेको अवस्थामा भने भोली दोस्रो क्वालिफायरमा टोलीले फाइनल पुग्न दोस्रो प्रयास गर्नेछ । फाइनल शनिवार हुनेछ । नेपालले लिग २ मा बिहीबार नामिबिया र शनिवार नेदरल्यान्ड्सको सामना गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्