लिग टु अन्तर्गत सिरिजको पहिलो खेलमा नेपाल र नामिबियाको  खेल्दै



काठमाडौँ । आईसिसी विश्व क्रिकेट लिग टु अन्तर्गत सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्ने भएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान सवा ९ बजेबाट सुरु हुनेछ। नामिबियाविरुद्ध जितका साथ नेपाल लिग टुमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ।

३ वर्षसम्म चल्ने सिरिजका शीर्ष ४ टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन्। खेल २०२४ देखि २०२७ सम्म चल्नेछ। एक दिवसीय अन्तर्राष्ट्रियमा यी दुईबिच अहिलेसम्म ६ खेल हुँदा नेपालले २ र नामिबियाले ३ खेल जितेका छन्। १ खेल भने नतिजा विहीन छ।

त्रिकोणात्मक सिरिजमा यी २ सहित नेदरल्याण्ड्सले पनि प्रतिस्पर्धा गर्नेछ। नेपाल र नेदरल्याण्ड्सबीच एक दिवसीयमा ३ खेल हुँदा नेपालले १ खेलमात्र जितेको छ।

सन् २०२७ मा दक्षिण अफ्रिका, नामिबिया र जिम्बावेमा संयुक्त रुपमा हुने विश्वकपका लागि छनोट प्रक्रिया समेत रहेको लिग टु मा कुल ८ टोलीबिच प्रतिस्पर्धा हुनेछ। यसमा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका छन्।

सहभागी टोलीबिच हुने २४ वटा त्रिकोणात्मक सिरिजमा कुल १ सय ४४ खेल हुनेछन्। अङ्क तालिकाको शीर्ष ४ टोलीले सोझै विश्वकप छनोटमा स्थान बनाउने र पुछारका ४ टोलीले प्लेअफ खेल्नु पर्नेछ।

विश्वकप छनोटमा लिग टु का शीर्ष ४ सहित प्लेअफका शीर्ष ४ र आईसिसीका पूर्ण सदस्य २ टोली गरि १० टोलीबिच शीर्ष ४ स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

लिग टु का लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय बलियो टोली घोषणा गरिसकेको छ। यस पटक ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर देव खनालले टोलीमा पुनरागमन गर्दा रिजन ढकाल र अर्जुन साउद बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस्