भासिए बस्ती, जङ्गलमै बास



रुकुमपश्चिम । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ का दुई बस्ती भासिएका छन्। गत कात्तिक १७ गतेको भूकम्पले २५ घरधुरी रहेको मङ्ग्रागाउँ र सात घरधुरी रहेको सिमपाखा बस्ती भासिएपछि अस्थायी आवास निर्माणको कामसमेत प्रभावित बनेको छ।

अहिले मङ्ग्रागाउँ टोलवासीले पाखामै जस्तापाताले बेरेर अस्थायी आवास बनाउन थालेका छन् भने सिमपाखाका भूकम्प प्रभावित अझैसम्म घर फर्केर बस्न सकेका छैनन्। उनीहरू नजिकैको जङ्गलको बिचमा दिनरात काटिरहेका छन्।

सिमपाखाका बलबहादुर कामीले सात घरपरिवार अहिलेसम्म स्थानीय घोडेपाइला सामुदायिक वनमा टहरा बनाएर बसिरहेको बताउनुभयो। भूकम्पमा परेर घाइतेसमेत हुनुभएका उहाँले सिमपाखाको भूभाग भासिएको र बस्न डर लाग्ने अवस्था भएकोले घरमा नगएको बताउनुभयो।

उहाँले अन्यत्र कतै पनि जग्गा नभएकाले सरकारले दिएको अनुदान रकमले जङ्गलकै बिचमा टहरा बनाएर बस्न बाध्य भएको उल्लेख गर्दै भन्नुभयो, “वन समितिले वन क्षेत्रमा बस्न नमिल्ने बताएपछि आफूहरूलाई अहिले बासको पिरलो छ।”

सोही टोलका हरिबहादुर थापाले सात घरका २५ जना अहिले जङ्गलको बिचमा बसिरहेको र चिसोले ज्यान थप जोखिममा परेको बताउनुभयो। त्यहाँ तीन जना सुत्केरी र नाबालकसमेत छन्। भूकम्पको रातपछि नियमित छ दिनसम्म खुला आकाशमै बस्नु परेको र वनको बिचमा सामुदायिक स्वास्थ्य भवन बनाउनलाई खनिएको जग्गामा आएर बसेको उहाँले सुनाउनुभयो।

मङ्ग्रागाउँ टोलका करिब २५ घरपरिवार अहिले भासिएकै भिरालो पाखोमा बस्न बाध्य छन्। वडा नं. ११ का वडा सदस्यसमेत रहनुभएका स्थानीय जगवीर बटालाले जसोतसो टिनका टहरा बनाए पनि घर बनाउन लायक जमिन नभएको बताउनुभयो। उहाँका अनुसार दुवै टोलको माथिल्लो भागबाट खनिएको सिमपाखा–गोइरी–रातामाटा सडक, टोलको छेउबाटै बनाइएको गिजागार–चौर सिँचाइ नहर र गाउँदेखि तल्लो भागमा रहेको राडी हुँदै रिम्ना जाने सडकका कारण बस्ती नै जोखिममा रहेका थिए। अहिले भूकम्पपछि उक्त क्षेत्रको जमिन कम्मरभन्दा बढी भासिएकाले थप जोखिम बढेको उहाँको भनाइ छ। वडा कार्यालयको तथ्याङ्क अनुसार भूकम्पमा परेर वडाका छ जनाको मृत्यु भएको थियो भने घरबास क्षति पुगेका एक हजार ५१४ परिवार हालसम्म लाभग्राही कायम भएका छन्।

आठबिसकोट नगरपालिका प्रमुख रवि केसीले यो विषय चुनौतीका रूपमा आएको बताउनुभयो। अहिलेलाई खाली ठाउँमा रहेका सार्वजनिक जमिन उपयोग गर्न सहजीकरण गरिएको र पुनर्निर्माणका बेला सकेसम्म एकीकृत बस्ती हुने गरेर घर बनाउने सोच बनाएको उहाँले उल्लेख गर्नुभयो । उहाँले गाउँघर छरिएरभन्दा पनि एकीकृत रूपमा बनाउन कोसिस रहने र जग्गा नभएकाहरूको हकमा ठोस योजना बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले नगरपालिकाका वडा नं. ११, १२ र १३ मा समेत केही घर तथा बस्ती जोखिममा रहेको जानकारी दिनुभयो। आजको गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्