न्यूजिल्यान्डद्वारा टेस्ट सिरिज क्लिन स्विप



काठमाडौँ । न्यूजिल्यान्डले दक्षिण अफ्रिका विरुद्धको घरेलु टेस्ट शृंखला क्लिन स्विप गरेको छ । दक्षिण अफ्रिकाले दिएको २६७ रनको लक्ष्य न्यूजिल्यान्डले चौथो दिनमा ३ विकेट गुमाएर पूरा गर्यो ।

न्यूजिल्यान्डका लागि केन विलियमसनले १३३ रनको अविजित इनिङ खेले । यस्तै विल यंग ६० रनमा नटआउट रहे । ओपनर टम ल्याथमले ३०, रचिन रभिन्द्रले २० तथा डेभोन कन्वेले १७ रन बनाए । दक्षिण अफ्रिकाका लागि डेन पिइड्टले तीन विकेट लिएका थिए ।

त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका २ सय ४२ रनमा सिमित भएको थियो । दक्षिण अफ्रिकाका लागि रुआन डे स्वार्डटले सर्वाधिक ६४ रन बनाएका थिए । यस्तै डेविड बेडीनगमले ३९ र सन भोन बर्गले ३८ रन बनाएका थिए । न्यूजिल्यान्डका लागि पहिलो इनिङमा विलियम ओरोउर्कले ४ तथा रचिन रविन्द्रले ३ विकेट लिएका थिए ।

त्यसपछि पहिलो इनिङमा ब्याटिङ गरेको न्यूजिल्यान्ड २ सय ११ रनमा समेटियो । न्यूजिल्यान्डलाई सस्तैमा समेट्न डेन पिइड्टले ५ विकेट लिएका थिए । यस्तै डेन पिटरसनले ३ विकेट लिए ।न्यूजिल्यान्डका लागि केन विलियमसनले सर्वाधिक ४३ रन बनाएका थिए । यस्तै टम ल्याथमले ४० तथा विल यङले ३६ रन बनाए ।

३१ रनको अग्रता साथ दोस्रो इनिङमा ब्याटिङ सुरु गरेको दक्षिण अफ्रिका २३५ रन मात्र बनाउन सक्यो । बेडिनगमले ११० रनको शतकीय इनिङ खेल्दा किगन पिटरसनले ४३ रनको योगदान गरे । विलियम ओरोउर्कले दोस्रो इनिङमा भने ५ विकेट लिन सफल भए ।

दुई टेस्ट शृंखलाको पहिलो टेस्ट न्यूजिल्यान्डले २८१ रनको फराकिलो अन्तरले जितेको थियो । घरेलु टि-२० एसए-२० चलिरहेको अवस्थामा दक्षिण अफ्रिकाले कमजोर टोली न्यूजिल्यान्ड भ्रमणका लागि पठाएको छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्