सरकार, सांस्कृतिक सम्पदाको संरक्षणतर्फ चासो दिने कि ?



अनुसा थापा र भक्तपुर । देशभरका आम जनता काठमाडौँ आउँदा सुनधारा हेर्न चाहन्छन् । विभिन्न जिल्लाबाट काम लिएर आएका हुन् या घुम्नका लागि उनीहरू सुनधारा जान्छन् नै । अधिकांशले सुनधारा भन्ने बित्तिकै धारा होला भन्ने सोच्छन् । तर, त्यहाँ अहिले धारा छैन । सुनधारा त छ तर धारा मासिसकेको छ ।

सुके धारा, बसुन्धारा, जोरकुवालगायतका नाम अहिले पनि चर्चामा छ । तर, सुके धारा खोइ त ? त्यहाँ कुनै धारा छैन । धारा भएकाले नै त त्यहाँको नाम यस्तो राखिएको हो । यद्यपि, सबै धारा, कुवा मासिसकेको छ । कमलपोखरी, नागपोखरी, गणपोखरी, लामपोखरीलगायत थुप्रै पोखरीका नामबाट ठाउँ परिचित छ ।

विडम्बना, पोखरी छैन, नाम मात्रै छ । पोखरी नै गायब भइसकेको छ । पोखरीको जग्गा व्यक्तिले आफ्नो नाममा लगेर घर बनाइसकेको छ । सोह्रखुट्टे भन्ने नाम किन रहन गयो ? किन त्यहाँ बटुवाहरूलाई बास बस्न मिल्ने पार्टी पौवा थियो । अहिले पनि सो स्थानलाई सोह्रखुट्टे नै भनिन्छ ।
तर, पार्टी पौवा कहाँ छ ? नक्साल भगवती थान मन्दिरभित्र सानो एउटा ढुंगेधारा छ । धाराबाट तिरतिरे पानी आउँछ । लामो समयदेखि जम्मा भएको पानीका कारण त्यहाँ फोहोर भएको छ । गन्हाएर बस्न नसक्ने हुन्छ । तर, कसले सफा गर्ने ? चाबहिल गणेशस्थान मन्दिरबाट चोक आउने बाटोमा ढुंगेधारा छ ।

त्यो ढुगेधाराको जग्गा पनि मिचिएको छ । पानी नआउने ढुंगेधारासँगै जोडिएका एउटा भवन बन्दै छ । सो भवनले ढुंगेधाराको जग्गा मिचेको छ । भक्तपुर सूर्यविनायक नगरपालिकाको चर्चित मन्दिर हो, सुशिल भैरव थान । तर, संरक्षण गर्नुपर्नेले नै मन्दिरको जग्गा मिचिरहेका छन् ।
वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार भन्नेले त्यहाँको जग्गा मिचेर घर ठड्याएका छन् । उनको घरसँगै रहेको अन्य दुई जनाले भैरवथानको जग्गा मिचेर मन्दिरभन्दा अग्लो घर बनाएका छन् । राजकुमारको घरको छेउमै पिपलको बोट छ । त्यहाँ ढुंगेधारा र पोखरी थियो । ढुंगेधारा र पोखरीको जग्गासँगै सरकारी जग्गा मिचेर त्यहाँ थुप्रै घर बनेका छन् ।

तर, वडाध्यक्षलाई मतलब छैन । मतलब गरुन् पनि किन, आफैँले मन्दिरको जग्गा मिचेका छन् । आफ्नो वडामा सरकारी जग्गा कति छ ? गुठीका जग्गा कति छ ? ढुंगेधारा, तालपोखरी कति छ ? पार्टी पौवा कति छ ? यसको तथ्याङ्क वडा कार्यालयसँग छैन । न जनप्रतिनिधिहरूले खोज्छन्  ।
बरु उनीहरू आफैँ सरकारी सम्पत्ति दोहन गर्नतर्फ लागेका छन् । बुढापाकालाई कहाँ के थियो ? स्पष्टै थाहा छ । तर, तिनको आवाज कसले बाहिर ल्याइदिने ? आज र भोलिको अवस्थामा बाँचिरहेका उनीहरू अस्ताएपछि त्यहाँ के थियो ? भनेर कसले भन्ने ? हाम्रो सम्पदाहरू एकपछि अर्को गर्दै मासिएको छ ।

नेपाल एउटा सांस्कृतिक सम्पदामय देश हो । तर, संरक्षण नहुँदा पुर्खाले सिर्जेको सम्पत्ति पनि लोप हुने अवस्थामा पुगेको छ । ढुंगेधारा, तालपोखरी, पार्टी पौवा, चौतारा त मासिसक्यो, बाँकी भएका केही सम्पदा पनि अबको केही वर्षमै मासिन्छ । अबको नयाँ पुस्ताले यी सम्पदा देख्न पाउने छैनन् ।
उनीहरूलाई ढुंगेधारा, पार्टी पौवा भन्ने थाहा हुँदैन् किन कि उनीहरूले देख्नै पाउँदैनन् । गरिब, दुःखीहरुको सेवा गर्ने भनी दर्ता भएका एनजिओहरूले पनि सरकारको सम्पत्ति दोहन गरेका छन् । काम गरिबको गर्ने भन्ने तर धन्दा अर्कै चलाउने । देशमा जति पनि ठुला व्यापारी छन्, तिनीहरू यत्तिकै उचाइमा पुगेका होइनन् ।

सबैले गैर कानुनी काम गरेका छन् । भाटभटेनीका साहु मिनबहादुर गुरुङ्ग ललिता निवासको जग्गा प्रकरणमा मुछिए । उनले त यहाँको मात्र होइन ,देशभरको जग्गा कब्जा गर्नेका होलान् । तर, छानबिन कसले गर्ने ? उनीहरूलाई कानुनको दायरामा कसले ल्याउने ? डलर अर्बपति विनोद चौधरीले ‘चौधरी ग्रुप’ को आवरणको सरकारको सम्पत्ति आफ्नो नाममा लगेका छन् ।

बाँसबारीस्थित सरकारको जग्गा मिचेको विषयले पनि यसको पुष्ट्याइँ गर्दछ । उद्योगीको बर्को ओढेर सरकारी सम्पत्ति कब्जा गर्ने अन्य थुप्रै व्यक्ति छन् । एउटा सामान्य परिवारमा हुर्किएको व्यक्ति रातारात त्यो उचाइमा पुग्दैन । सरकारी जग्गा कब्जा गर्ने, व्यक्तिगत सम्पत्ति जोड्ने, राजश्व छली गर्ने, मजदुरलाई तलब नदिने अनि आफूलाई देशको प्रतिष्ठित उद्योगी भन्ने ?

देश सकाउनेलाई उद्योगी भन्नुपर्दा नेपालीलाई हीनताबोध हुने गरेको छ । क–कसले सरकारी जग्गा लग्यो ? यो छानबिन हुनैपर्छ । सरकारको सम्पत्ति मिचेर धनी भएका छन्, अझै शान देखाउँछन् । धोबिघाट किन भनिन्छ ? धोबीले लुगा धुने ठाउँ भएकाले त धोबिघाट भनिएको हो । तर, धारा त मासिसक्यो ।

पानीपोखरीलाई अहिले पनि पानीपोखरी नै भनिन्छ । तर, पानीपोखरी खोइ त ? नामचाँहि छ तर त्यहाँको सम्पदा छैन । सबै मिलेर बाँडीचुडी खाइसके, अनि कहाँबाट रहोस् ? घट्टेकुलामा घट्ट र कुलो केही पनि छैन । बाँसबारीमा पहिले बाँस नै बाँस थियो । त्यसैले त्यसलाई बाँसबारी भनियो ।
तर, केही प्रतिष्ठित व्यापारी र व्यक्तिले त्यहाँको बाँस काटेर घरैघर बनाए । नेपाललाई विश्वले किन चिन्छ ? पर्यटक यहाँ के हेर्न आउँछन् ? अहिले पनि नेपाल संस्कृतिले भरिपूर्ण देश हो भनिन्छ । यहाँ आकर्षक सांस्कृतिक सम्पदा छ भन्ने गरिन्छ । तर, अब यो किताबमै मात्र सीमित हुने बेला भइसकेको छ ।

न यहाँ संस्कृति छ न सांस्कृतिक सम्पदा । सबै मासिँदै गयो । सांस्कृतिक सम्पदाले विश्वमा  नेपाललाई फरक पहिचान दिएको थियो । तर, अब पर्यटक यहाँ के हेर्न आउने ? घर, थोत्रा गाडी, फोहोर र प्रदूषण । सांस्कृतिक सम्पदाको जगेर्नाका लागि मुलुकमा थुप्रै निकाय छन् । तर, त्यही निकायकै कर्मचारीको मिलेमतोमा सरकारी सम्पत्ति व्यक्तिको नाममा गएको छ ।

उपत्यकाभित्र ६३४ वटा ढुंगेधारा थियो । अहिले ती ढुंगेधारा कहाँ छन् ? सरकारले खोजेको छ ? माफियाहरूको कुदृष्टि पर्दा सबै विस्थापन भयो । बाँकी भएको एकाध पनि तिनले कब्जा गर्छन् । मुलुकभर ७५३ वटा स्थानीय पालिका छन् । जनप्रतिनिधिको तलब भत्ता र सेवा सुविधामा मासिक राज्यको अर्बौँ रुपैयाँ खर्च हुन्छ ।

तर, ती जनप्रतिनिधिले आफ्नो पालिकाभित्रको सम्पदा खोजतलास गर्न चासो देखाएका छैनन् । बरु मास्नमा उनीहरूको हात छ । मठमन्दिर नै घरभित्र पारेर घर बनाइएको छ । त्यस्तालाई कारबाही हुन पर्दैन ? एमालेको धुम्बाराहीस्थित पुरानो पार्टी कार्यालय पनि सरकारी जग्गामा छ ।
सरकारी जग्गा व्यक्तिको नाममा लगेर त्यहाँ घर बनाइयो । बबरमहलमा भएको नेपाल कला परिषद् पनि सरकारी जग्गामै बनेको छ ।

बबरमहलस्थित सडक विभागअगाडि रहेको कर्मचारी सङ्गठनको घर पनि सरकारी जग्गामै निर्मित छ । राजनीतिक दल सरकारी कर्मचारी, व्यापारी, व्यक्ति सबै सरकारी जग्गा कब्जा गर्ने अनि जोगाउन नै कसले ?

सरकारी जग्गा कब्जा गरेर व्यक्तिहरूले निजी अस्पताल बनाएका छन् । सामुदायिक शैक्षिक संस्थाका जग्गा पनि व्यक्तिको नाममा गइसकेको छ । त्यहाँको जग्गा भाडामा लगाइएको छ । सरकारी जग्गा र गुठी जग्गा पहिले कति थियो ? अहिले कहाँ कहाँ छ ? भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले खोजतलास गर्दैन ।

यता, नापी विभाग पनि अनदेखा गरिरहेको छ । सरकारले २०२१ र २०३२ सालमा देशभरका जग्गा नाप्यो । व्यक्तिहरूलाई त्यति बेला लालपुर्जा दिइयो । त्यसको फाइदा कानुन व्यवसायी र जग्गा दलालहरूलाई भएको छ । नाप जाँच गर्न छुटेको भन्दै उनीहरूले सरकारको सम्पत्ति आफ्नो नाममा लगे ।

भएका सरकारी जग्गा सिद्धि हाल्यो । बाँकी भएको जग्गा पनि राजनीतिक दलहरूले कार्यकर्ता उचालेर कब्जा गर्न लगाए । नेपालका धेरै सम्पदा विश्व सम्पदा सूचीमा परेको छ । यही सम्पदाले नेपाललाई विश्वमा चिनाएको थियो । तीन तहकै सरकारले सम्पदालाई नजोगाउन हो भने सरकारी सम्पत्ति पनि सिद्धिन्छ, नेपालको अस्तित्व पनि छायामा पर्छ ।

प्रतिक्रिया दिनुहोस्