तहटमा झडपपछि अनिश्चित कालीन कर्फ्यु आदेश जारी



काठमाडौँ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका–७ घिउरा टोलमा सरस्वती देवीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थानीय प्रशासनले अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरेको छ ।

मूर्ति सेलाउने विषयमा शनिवार साँझ २ पक्षबिच विवाद हुँदा झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको हो । झडपमा केही स्थानीय घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल रेग्मीले २ पक्षबिच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको जानकारी गराएका हुन् । प्रशासनले पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चित कालसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

कर्फ्यूसँगै घटनास्थलमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । घिउरा गाउँका स्थानीयले सरस्वतीको पूजा गरेर शुक्रवार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि अर्को पक्षले डिजे बाजा बजाएको भन्दै अवरोध गरेको थियो ।आज शनिवार स्थानीय प्रशासनको रोहबरमा दुवै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएपछि झडपको स्थिति बनेको छ ।

प्रतिक्रिया दिनुहोस्