रियल म्याड्रिड बराबरीमा रोकियो



काठमाडौँ । लालिगा तालिकाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड आईतबार साँझ भएको खेलमा बराबरीमा रोकिएको छ । रियल रायो भालेकानो विरुद्ध १-१ को बराबरीमा रोकिएको हो ।

खेलको तेस्रो मिनेटमा नै फेडेरीको भालभर्डेको पासमा गोल गर्दै जोसेलुले खेलमा रियलका लागि अग्रता दिलाएका थिए । बक्सको दायाँ तर्फबाट आएको क्रसमा जोसेलुले पहिलो पटकमै गोल गर्न सफल भएका थिए ।

२७औं मिनेटमा रायोले खेलमा पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पायो । एडुवार्डो कामाभिंगाले बक्स भित्र ह्यान्डबल गरेपछि रायोले पेनाल्टी पाएको थियो । सो पेनाल्टीमा राउल डे टोमासले कुनै गल्ती नगरी खेल बराबरीमा ल्याए ।

त्यसपछि पनि खेलमा निकै अवसरहरु सिर्जना भएतापनि खेलमा कुनै गोल हुन सकेन । खेलको अन्त्यतिर रियलका ड्यानी कार्भाहाल दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

बराबरी पछि रियल २५ खेलमा ६२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको र ५६ अंक रहेको दोस्रो स्थानको जिरोनाले भोलि राती हुने खेलमा एथ्लेटिक क्लब विरुद्धको खेलमा जित हासिल गर्दै अंकदूरी कम गर्ने मौका पाएको छ । रायो भने २५ खेलमा २५ अंक सहित १४औं स्थानमा छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्