![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2024/02/fire-1.png?fit=1920%2C1080&ssl=1)
काठमाडौँ । बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको पहिलो उद्योगमा मङ्गलवार राति आगलागी भएको हो ।
आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङका प्रहरीले जनाएको छ । बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने खुलेको छैन । कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोतले बतायो ।आगो सुरु भएको स्थानमा विद्युत् सर्ट हुनसक्ने सम्भावना नभएका कारण कसैले आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
बन्द अवस्थाको जुट मिलको ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी सुरु भएको थियो । जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जलेको प्रहरीले जनाएको छ । मिलका दुई वटा पुराना मेसिनमा पनि क्षति पुगेको छ ।
विक्रम संवत् १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो उद्योग हो । विराटनगर जुट मिल्स २०७८ साल माघदेखि बन्द छ । पछिल्लो समय सरकारले बन्द रहेका उद्योग सुरु गर्न चासो देखाएपछि भारतीय व्यापारिक समूह बिड्ला ग्रुपले मिलको वस्तुस्थिति अवलोकन गरेको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाका दमकलको सहयोगमा बुधवार राति १ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो ।