सातको अन्तिम दिन पनि ओरालो लाग्यो सेयर बजार 



काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक  ओरालो लागेको छ । गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको नेप्सेले  आज बिहीबार पनि ओरालो लागेको हो । बिहीबार नेप्से परिसूचक २०.७६ अङ्कले ओरालो लागेको हो । नेप्से बिहीबार  ओरालो लागेसँगै २००५.८३ विन्दुमा झरेको छ। त्यसै गरी, सेन्सेटिभ इण्डेक्स ३.४९ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२२ अङ्कले ओरालो लागेको छ ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ३०९ स्टकको ७७ हजार ८३३ पटकको कारोबारमा ३ अर्ब २० करोड ६१ लाख रुपैयाँ बराबरको ९५ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर बिहीबार पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको सेयर मूल्य बिहीबार १९७ रुपैयाँ ८० पैसा बढेर २ हजार १७६ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। कारोबारमा आएको जोशी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य भने  करिब १० प्रतिशत बढेको छ। बिहीबार हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य सर्वाधिक ७.६० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमापनि जोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, गोर्खाज फाइनान्सको १४ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। बिहीबार उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक१.१४ प्रतिशत र वित्त उपसमूहको ०.३३ प्रतिशत बढेको हो। बिहीबार होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बिमा र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्