नेपाल ‘ए’ लाई हराउँदै क्यानडा-११ ले जित्यो सिरिज



काठमाडौँ । क्यानडा-११ ले नेपाल ‘ए’ विरुद्ध जारी एकदिवसीय सिरिज जितेको छ । तेस्रो खेलमा ४ विकेटको जितका साथ क्यानडा-११ ले सिरिज जितेको हो ।  मुलपानी क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य क्यानडाले ३९ औँ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक बनाए । किर्तनले ७९ बलमा ६ चौकासहित ५८ रनको योगदान दिए ।

यससँगै क्यानडाले ३ खेलको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको छ । क्यानडाले पहिलो खेल ४ विकेटले जितेको थियो । दोस्रो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो ।क्यानडाका लागि ओपनर आरोन जोन्सनले आक्रामक सुरुवात दिलाएका थिए । उनले ३१ बलमा २ चौका र ४ छक्कासहित ४२ रन जोडे । अर्का ओपनर सृमन्थ विजयरत्ने ११ बलमा १० रन जोड्दै पाँचौँ ओभरमा पेभेलियन फर्केका थिए ।

नवौं ओभरमा जोन्सन आउट हुँदा टोलीको स्कोर ५८ रन थियो । दुवै साहब आलमको बलमा विकेटकिपर अर्जुन कुमालबाट स्टम्पिङ आउट भएका थिए । दिलप्रित बज्वा ११ रन र हर्ष ठाकर २ रनमा आउट हुँदा क्यानडा केहि समस्यामा परेको थियो । तर अर्को एण्डमा निकलस किर्तनले इनिङ सम्हाले । निखिल दत्त ३५ बलमा १४ रन जोड्दै आउट भए ।

त्यसपछि नवनित धलिवल र किर्तनले बलियो साझेदारी गर्दै जितनजिक पुर्याए । छैटौं विकेटका लागि यी दुईले ६७ रनको साझेदारी गरे । धलिवल ४३ बलमा ४ चौकासहित ३२ रन जोड्दै आउट भए । नेपालका लागि साहब आलमले ४ तथा शेर मल्ल र बसिर अहमदले १-१ विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४७ औँ ओभरमा अलआउट हुँदै १ सय ८१ रन जोडेको थियो । नेपालका ७ ब्याटरले १९ रनभन्दा माथि जोडेपनि कसैले ३० रन कटाउन सकेनन् ।

पहिलो विकेटका लागि ५४ रनको साझेदारी पाएको नेपालका लागि सर्वाधिक साझेदारी नै त्यहि रह्यो । ब्याटरहरुले राम्रो सुरुवात पाएपनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन् ।

ओपनर आशुतोष ४३ बलमा २८ रन जोड्दै साद बिन जफरको बलमा स्टम्पिङ आउट भएका थिए । लगत्तै अर्को ओभरमा शेर मल्ल खाता नखोली निकोलस किर्तनको एलबीडब्लू धरापमा परे ।

२१ औँ ओभरमा अर्जुन कुमाल पनि स्टम्पिङ आउट भए । उनले ५३ बलमा २ चौकासहित २७ रन जोडे । २४ औँ ओभरमा कप्तान सन्दीप कट बिहाइन्ड भए । उनले २८ बलमा ३ चौका र १ छक्कासहित २४ रन बनाए । उनी आउट हुँदा नेपाल ८७-४ को स्थितिमा थियो । राशीदले खान २५ बलमा १९ रन जोडे । सुजन थपलियाले किर्तनको बलमा एलबीडब्लू आउट हुनुअघि ५१ बलमा २० रन बनाए ।

बसिर अहमद ४० बलमा ३ चौकासहित २५ रन जोड्दै रनआउट भएपछि नेपाल संकटमा परेको थियो । त्यसपछि प्रतिश २० बलमा १९ रन जोड्दै हर्षको बलमा क्याच आउट भए । लगत्तै अर्को बलमा साहब आलम गोल्डेन डक आउट भए । अन्तिम विकेटका रुपमा हेमन्त ६ रनमा रनआउट भएका थिए ।

नेपालले आजको खेलका लागि टोलीमा ४ परिवर्तन गरेको छ । मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन् । आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जिसी टोलीमा आएका छन् । क्यानडा-११ ले टोलीमा दुई परिवर्तन गरेको शह । दिलप्रित बज्वा र कलीम साना टोलीमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्