दाग लागेको मन्त्रीलाई घर पठाउन गगनको सुझाव



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काम गर्न नसक्ने र विवादित मन्त्रीलाई सरकारबाट हटाउनुपर्ने बताएका छन् । बिहीबार पार्टीको महासमिति बैठकको समापन कार्यक्रममा बोल्दै उनले दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताएका हुन् ।

पार्टीबाट निर्वाचित भएका वडाध्यक्षदेखि मन्त्रीसम्म सबै जनप्रतिनिधिले आफ्नो रिपोर्ट कार्ड दिन सक्नुपर्ने थापाले बताए । उनले भने, ‘म जस्तो सांसद होस् वा मन्त्री होस् प्रत्येकले रिपोर्ट कार्ड दिन सक्नुपर्छ । हाम्रो कामबाट नागरिक खुशी भएर काँग्रेसलाई धन्यवाद भन्न सक्नुपर्छ । काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऔँ, दाग लागेको मन्त्रीलाई घर पठाऔँ ।’

अहिले पार्टीको कतिपय ठाउँमा दाग लागेको र ऐना पुछेर दाग नजाने भन्दै उनले पहिले अनुहारको दाग मेटाउनुपर्ने बताए । उनले नेताको नाममा सहकारी ठग्ने, जग्गा किर्ते गर्ने र नागरिकता किर्ते गर्नेहरूलाई पार्टीले ठिक गर्नुपर्ने टिप्पणी गरे । काम गर्न नसक्ने वडाध्यक्षलाई अर्को पटक टिकट होइन, १० वर्ष घर बसाउँछु भन्न सक्नुपर्ने महामन्त्री थापाले बताए  ।

प्रतिक्रिया दिनुहोस्