इराक विरुद्ध पहिलो हाफमै साम्बाको चार गोल



काठमाडौं । सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो हाफमा नै ह्याट्रिक सहित चार गोल गरेसँगै नेपालले वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा इराक विरुद्ध मध्यान्तरसम्म चार गोलको अग्रता लिएको छ । आज साम्बाले आफ्नो अन्तराष्ट्रिय करियरको ४५औं, ४६औं, ४७औं र ४८औं गोल गरेकी हुन् ।

खेलको सुरुवाती समयमा खेलमा आफ्नो पकड बनाउन नसकेको नेपालले त्यसपछि भने लगातार आक्रमण बुन्यो । इराकले बल राख्ने बित्तिकै हाइ(प्रेस गर्दै नेपालले इराकलाई सहजै बल राख्न दिएको थिएन । सातौं मिनेटमा नेपाल गोल गर्नको निकै नजिक पुगेर चुक्यो । साम्बाको क्रसमा रेखा पौडेलले बक्स भित्रबाट गरेको प्रहार पोस्टको बाहिरपट्टि लागेर बाहिरियो ।

नवौं मिनेटमा रेखाको पासमा अमिषा कार्कीको प्रहार ब्लक हुन पुग्यो । ११औं मिनेटमा साम्बाको फ्रि-किक प्रहार पोस्टमाथि बाट बाहिरियो । १४औं मिनेटमा साम्बाले नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले आफ्नै हाफबाट खेलेको पासमा आफ्नो तिव्र गतिको प्रयोग गर्दै उनले सुन्दर फिनिशका साथ नेपाललाई खेलमा अग्रता दिलाएकी हुन् ।

१६औं मिनेटमा साम्बाले नै नेपालको दोस्रो गोल गरिन् । इराकी डिफेन्डर दिरिन मुल्लाबाकरबाट बक्स भित्र नै बल खोसेर उनले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।१९औं मिनेटमा रेखाले गोल गर्ने राम्रो अवसर खेरा फालिन् । उनको प्रहार गोलरक्षक जाहरा अल सदेइले बचाइन् । २१औं मिनेटमा प्रिती राईले साम्बाको पासमा गरेको प्रहार पनि अल सदेइले बचाइन् ।

२६औं मिनेटमा अनिता बस्नेतले कर्नरबाट पोस्टमा प्रहार गरिन् । पहिलो खेलमा उनले सिधै कर्नरबाट गोल गरेकी थिइन् । रिबाउन्डमा साम्बाले पोस्टभन्दा माथि प्रहार गरिन् ।

२८औं मिनेटमा अनिता बस्नेतले बक्सको दायाँ भागबाट गरेको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो ।

३७औं मिनेटमा साम्बाले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । पूजा रानाले गरेको क्रसमा सहजै हेडर मार्फत गोल गर्दै उनले नेपालको अग्रता पनि तीन गोलको बनाइन् ।४४औं मिनेटमा उनले अर्को गोल थपिन् । रेखाको पासमा उनले गरेको पहिलो प्रहार अल सदेइले बचाएपनि दोस्रो पटकमा गोल गर्दै उनले खेलमा व्यक्तिगत चौथो गोल गरिन् ।

नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४-१ को सानदार जित हात पारेको थियो । नेपालको जितमा अमिषा कार्की, सावित्रा भण्डारी, रेखा पौडेल र अनिता बस्नेतले समान एक एक गोल गरेका थिए । इराक भने पहिलो खेलमा प्यालेस्टाइनविरुद्ध ३-० ले पराजित भएको थियो ।

नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । नेपाल र प्यालेस्टाइन दुवैको समान ३-३ अंक रहेको छ । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्