नामिबियाद्वारा नेदरल्याण्ड्स सामू सामान्य लक्ष्य 



काठमाडौँ । आईसिसि लिग-२ अन्तर्गत काठमाडौँमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नामिबियाले नेदरल्याण्ड्स विरुद्ध सामान्य योगफलमा समेटिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया ४१.३ ओभरमा २०३ रनमा समेटिएको हो ।

नामिबियाका लागि ज्यान निकोल लोफ़्टि९इटनले सर्वाधिक ४९ रन बनाए । यस्तै डेब्यु गरिरहेका मलान क्रुगरले ३९ रन जोडे ।   नामिबियाको सुरुवात भने राम्रो रहेको थिएन । ओपनर निकोलास दाभिन शुन्यमा पहिलो ओभरमा नै पेभेलियन फर्किएका थिए । उनी भिभियान किङमाको बलमा क्याच आउट भए । तेस्रो नम्बरमा आएका माइकल भ्यान लिङ्गेन पनि १० रन मात्र बनाएर किङमाकै बलमा बलरद्वारा नै क्याच आउट भए ।

कप्तान जेर्हार्ड इरासमस पनि धेरै बेर क्रिजमा टिक्न सकेनन् । उनी २२ बलमा १२ रन बनाएर रुलफ भ्यान डर मर्वाको बलमा नोआह क्रोएसद्वारा क्याच आउट भए । त्यसपछि आउट हुने आजको खेलमा डेब्यु गरिरहेका ओपनर मलान क्रुगर थिए । उनलाई ४८ बलमा ५ चौकासहित ३९ रनमा आर्यन दत्तले बोल्ड गरेका थिए ।

७६ रनमा कृगर आउट भएपछि क्रिजमा आएका जेजे स्मिट पनि पहिलो बलमा नै शुन्यमा दत्तको शिकार बने ।  छैठौ विकेटका लागि ज्यान फ्राईलिंक र ज्यान निकोल लोफ़्टि९इटनले मिलेर ७८ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । साझेदारी फ्राईलिंक ५७ बलमा ३४ रन बनाएर शारिज अहमदको बलमा आउट भएसँगै टुटेको थियो ।

सोहि ओभरमा लोफ़्टि-इटन ४९ रनमा रनआउट हुन पुगे । ३० यार्ड सर्कल भित्र नै रहेको बलमा रन लिन जाँदा उनी रन आउट भएका थिए ।  नवौ विकेटका रुपमा बर्नार्ड स्कोल्ज शुन्यमा भ्यान डर मर्वाको बलमा क्याच आउट भए ।

नेदरल्याण्ड्सका लागि भिभियन किङ्गमाले सर्वाधिक ३ विकेट लिए । यस्तै आर्यन दत्त र रुलफ़ भ्यान डर मर्वाले समान २-२ विकेट लिँदा शारिज अहमद र बास डे लिडाले १-१ विकेट लिए ।

नामिबिया पछिल्लो खेलमा नेदरल्याण्ड्स विरुद्ध हार बहोरेको थियो भने नेपाल विरुद्ध दुवै खेल जितेको थियो । नेदरल्याण्ड्सले भने नेपाल विरुद्ध हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्