त्रिविको स्नातक कार्यक्रम तीनवर्षे नै बनाइने 



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने बताएका छन् ।  विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हिजो पदबहाली गरेपछि उनले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालयले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुवात गरेको थियो । विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चारवर्षे वा पाँचवर्षे हुनसक्ने उनको भनाइ रहेको छ । विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून र केहीमा शून्य रहेको भन्दै उनले अहिले मानविकी सङ्कायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताएका छन् । यसको समाधानका लागि मानविकीलाई सबै सङ्काय र कार्यक्रमबाट आउन मिल्ने गरी पुनः संरचना गरिने उनले बताए ।

उपकुलपति बरालले त्रिविका शैक्षिक कार्यक्रमहरूलाई उत्पादन र बजारसँग जोड्न आफू लागिपर्ने बताए । देशको मौलिक र रैथाने ज्ञानलाई विश्वविद्यालयको प्राज्ञिक अध्ययन–अनुसन्धानसँग जोड्नका लागि दीर्घकालीन योजना बनाइने जानकारी उनले दिए। उनले थोरै विद्यार्थी भएका र अनावश्यक रूपमा रहेका केन्द्रीय विभाग र क्याम्पसका विभागलाई गाभेर स्कुल मोडलमा लैजाने प्रतिबद्धता पनि जनाए ।

त्रिविको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि ४० केन्द्रीय विभाग गाभेर १७ वटा स्कुल स्थापना गर्ने उल्लेख छ । त्रिविका कतिपय विभागमा विद्यार्थीभन्दा अध्यापकहरूको सङ्ख्या धेरै रहेको छ । उपकुलपति बरालले भने आङ्गिक क्याम्पसहरूमा रहेका अनावश्यक विभागसमेत गाभेर स्कुल बनाउने घोषणा गरेका हुन् । तत्कालीन शिक्षाध्यक्ष (रेक्टर) शिवलाल भुसाल संयोजक रहेको कार्यदलले ५ वर्षअघि नै स्कुल मोडलमा जान सुझाव दिएको थियो । तर विभागीय प्रमुख र केही डिनहरूका अवरोधका कारण विभाग खारेज हुन नसकेको पूर्वपदाधिकारीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्