लिभरपुललाई इंग्लिस लिग कपको उपाधि



काठमाडौँ । लिभरपुलले आइतबार इंग्लिस फुटबल लिग कपको उपाधि हात पारेको छ । यो सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरिसकेका प्रशिक्षक योर्गन क्लोपले लिभरपुका लागि अर्को उपाधि जितेका छन्।

चोटका कारण सुरुवाती रोजाईका धेरै खेलाडी गुमाएको लिभरपुलले चेल्सीविरुद्ध अतिरिक्त समयमा गोल गर्दै उपाधि उचाल्न सफल भएको हो । लिभरपुलका लागि कप्तान तथा डिफेन्डर भर्जिल भ्यान डाइकले गोल गरेका हुन् ।

अतिरिक्त समय सकिएर खेल पेनाल्टी सुटआउटमा धकेलिन दुई मिनेट बाँकी रहँदा उनले गोल गरेका थिए । कोन्सटान्टिनोस सिमिकासले खेलेको कर्नर किकमा हेडर मार्फत गोल गर्दै उनले जित दिलाएका थिए । त्यसअघि खेलमा दुबै टोलीले धेरै मौकाको सदुपयोग गर्न सकेनन् । १४औँ मिनेटमा लिभरपुलका लुइस डियाजको प्रहार चेल्सी गोलरक्षक पेट्रोभिचले बचाएका थिए ।

२१औँ मिनेटमा लिभरपुल गोलरक्षक केल्लेहरले कोल पालमरको प्रहार विफल पारे । ३२औँ मिनेटमा रहिम स्टर्लिङले गरेपनि उनी अफसाइड रहेका थिए ।४०औँ मिनेटमा लिभरपुलका कोडी गाक्पोको हेडर पोस्टमा लागेर बाहिरिएको थियो । ६०औँ मिनेटमा भ्यान डाइकले गरेको गोल भिडियो असिस्टेन्ट रेफ्रीले फाउल भएका कारण रद्द गरेका थिए ।

७६औँ मिनेटमा चेल्सीका कनर ग्यालाघरको प्रहार पनि पोस्टमा लागेर फर्किएको थियो । इन्ज्युरी समयमा चेल्सीले लगातार केही अवसर खेरा फालेपछि अन्तिम समयमा जित निकाल्न सकेन ।अतिरिक्त समयमा भने लिभरपुलले बाजी मार्‍यो । लिभरपुलको यो कीर्तिमानी १०औँ लिग कप उपाधि हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्