एट्लेटिको मड्रिडलाई हराउँदै बिल्वाओ फाइनलमा



काठमाडौँ । ला लिगा प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडलाई पराजित गर्दै एथलेटिको क्लब बिल्वाओ कोपा डेल रेको फाइनला प्रवेश गरेको छ ।सेमिफाइनलको दोस्रो लेगमा ३–० को तथा समग्रमा ४–० को जितसँगै बिल्वाओले फाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा बिल्वाओले १–० को जित निकालेको थियो ।

सान मेमेस बारिया, बिल्वाओ स्पेनमा बिहीबर राति भएको खेलमा घरेलु टोली बिल्वाओलाई सहज जित दिलाउन इनाकी विलियम्स, निको विलियम्स र गोर्का गुरुजेटाले गोल गरे ।

खेलको १३औं मिनेटमा नै इनाकीको गोलबाट घरेलु टोली बिल्वाओले अग्रता लिन सफल भएको थियो । उनले निको विलियम्सको पासमा गोल गर्न सफल भएका थिए । ४२औं मिनेटमा निकोले इनाकीको पासमा गोल गर्दै बिल्वाओलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

त्यसपछि ६१औं मिनेटमा गोर्का गुरुजेटाले गोल गर्दै बिल्वाओको जित पक्का गरे । खेलमा पछि परेको एट्लेटिकोले बल पोसेसन राख्दै घरेलु टोलीमाथि दवाव बढाएपनि गोल गर्न नसक्दा पराजय बेहोर्न पुग्यो ।

बिल्वाओले क्वाटरफाइनलमा बार्सिलोना तथा एट्लेटिकोले प्रि–क्वाटरफाइनलमा रियल म्याड्रिड र क्वाटरफाइनलमा सेभियालाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो । तर, एट्लेटिकोको यात्रा सेमिफाइनलमै पूर्णविराम लाग्यो ।

अब बिल्वाओले उपाधिका लागि मलोर्कासँग ६ अप्रिलमा प्रतिस्पर्धा गर्देछ । मलोर्काले बुधबार राति रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्