यसरी पुग्यो नेपाल फाइनलमा



काठमाडौँ । त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै नेपाल फाइनलमा स्थान बनाउन सफल भएको छ । टियु क्रिकेट मैदानमा शनिबार सम्पन्न पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल सिरिजको दोस्रो जित दर्ता गर्न सफल भएको हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको सामान्य लक्ष्य १५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लियो ।

नेदरल्यान्ड्सले दिएको लक्ष्य १५.१ ओभरभित्र पूरा गरे नेपाल रनरेटमा नेदरल्यान्ड्सभन्दा अघि बढ्ने समीकरण रहेको थियो । यसमा सफल नभएपनि पोजिटिभ रन रेट भएपछि नेपाल १ खेल अगावै फाइनल पुगेको हो । अङ्क तालिकाको शीर्ष दुई टोली फाइनल पुग्ने प्रावधान रहेको छ ।

हाल अङ्क तालिकामा नेपाल र नेदरल्यान्ड्सको ४/४ तथा नामिबियाको २ अङ्क छ । आजको जितले नेपालको रनरेट पोजेटिभ भएको हो । नेपालको रनरेट ०.२९ र नेदरल्यान्ड्सको ०.३० छ । नेदरल्यान्ड्सले भोलीको खेल हारेपनि रनरेटमा नेपाल कम्तिमा शीर्ष २ स्थानमा रहनेछ । ३ टोलीको समान अङ्क हुँदा रनरेटमा नामिबिया वा नेदरल्यान्ड्समध्य १ टोलीभन्दा नेपाल नै अघि नै रहनेछ । नेदरल्यान्ड्सले जिते नेपाल उपविजेता बन्दै फाइनलमा पुग्नेछ ।

अब आइतबार लिगको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् । उक्त खेलको नतिजाले मंगलबार हुने फाइनल खेल्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्